मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 726
    SHARES

काठमाडौँ, पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् ।

मङ्गलबार दिउँसो पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो । अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ । “किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौँ ।”

वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने ।

मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए । साधु बस्ने कुटियाभित्र तीन साँढे भेटिए । “लकडाउन शुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्”, दिउँसोको भजनकीर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, “भगवान् शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ ।” साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन् । उनीहरुले साँढे सधैँ भगवान् शिवको साथमा रहने धार्मिक कथन सुनाए । “साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन”, योगी वेदनाथले भने, “यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन् ? पशुपति क्षेत्रभित्रका साँढेलाई आहारको कमी भएको उनले बताए ।

पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको उनीहरुले बताए । उनीहरुले कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे । “कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ”, योगी वेदनाथले भने, “यतिका साधुसन्तलाई यसले पुग्छ ।” त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन् । “हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, फिर्ता गछौँ, नभए परेवाले खान्छ”, उनले आक्रोशित हुदै भने।

पशुपतिमा बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए । अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ । पहिलादेखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन् । यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन् । “दिनहुँ ५० जनाभन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्”, योगी वेदनाथले भने “भोकै आउनेलाई खुवाएर पठाउनै पर्यो ।”

तर  पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्यमा खतिवाडाले  पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको बताए।  दैनिक ३०० देखि ५०० जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको उनको भनाई थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)