काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषि पञ्चमी पर्व मनाउँदैछन् ।
ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ ।
काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्त ऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ । विशेष गरी महिलाहरूले ऋषि पञ्चमीका दिन स्नान गरी सप्त ऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ । यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्त ऋषिको पूजा गरिन्छ ।
ऋषि पञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ । धार्मिक आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा परम्परा, संस्कार र सांस्कृतिक निरन्तरताको महत्त्व बोकेको छ । –न्युज एजेन्सी नेपाल
