भक्तपुर – प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको भिड लागेको छ । डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिन अर्थात् भदौ ६ गते सर्वसाधारणले मन्दिरको गर्भ गृहसम्मै पुगेर पूजा गर्न पाउने भएकाले बिहान ४ बजे देखिनै भक्तजनको भिड लागेको हो ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, मन्दिरमा बिहान ४ बजे देखिनै पूजा तथा दर्शनका लागि मन्दिरका चार वटै ढोका खुल्ला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि वर्षमा तीन दिन मन्दिरभित्रै गर्भ गृहमा प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था मिलाइएको छ ।
आजैका दिन साउन १ गतेदेखि डोलेश्वरमा सञ्चालित श्रावणी मेलासमेत समापन गरिने कार्यक्रम रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार, आज बिहानैदेखि साउनको सोमवारकै हाराहारीमा भक्तजनको भिड लागेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा स्वदेशी संगै उल्लेख्य संख्यामा भारतीय तिर्थयात्री आएको अध्यक्ष बस्नेतको भनाई छ ।
डोलेश्वरको श्रावणी मेलामा यसअघिका वर्ष शनिवार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गरे पनि पछिल्लो समय सरकारले आइतबार सार्वजनिक बिदा दिइथालेपछि सो दिनसमेत भक्तजनको उल्लेख्य सहभागिता रहन थालेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
मेलाका क्रममा करिब एक करोड रुपैयाँ सङ्कलन भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले बताए । डोलेश्वरको श्रावणी मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने कार्यक्रम रहेको सुर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।
डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिनलाई सूर्यविनायक नगरपालिकाले नगरपालिकाभरि सार्वजनिक बिदासमेत दिँदै आएको छ । डोलेश्वरमा शिव पार्वतीको विवाह भएको दिन अक्षय तृतीया र शिवरात्रिका दिन गर्भ गृहसम्मै पुगेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।
