बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वटवृक्ष (लघुकथा ) -युवराज मैनाली


  • युवराज मैनाली
  • बुधबार, भदौ १७, २०८३
  • 48
    SHARES

वटवृक्ष

गाउँको चौतारीमा एउटा वृद्ध वटवृक्ष केवल अस्थिपञ्जरको सहारा लिई लखतरान मुद्रामा उभिएको थियो । उसका जराहरू माटोभित्र होइन, आफ्नै अवसानभित्र जकडिएका जस्ता देखिन्थे । उसका बोक्राहरू कालप्रवाहले विदीर्ण हस्तलिखित पन्नाझैँ लत्रिएका थिए । शाखाहरूमा विरक्ति र उजाडपनको धूलो जमेको थियो । उसको छायाको साम्राज्य धेरैअघि नै ढलिसकेको प्रतीत हुन्थ्यो । कुनै समय त्यो वटवृक्षले आकाशै ढाकेजस्तो प्रतीत हुन्थ्यो, ऊ चौतारीको चलायमान दरबार थियो । उसलाई देख्दा वरिपरिका मार्गहरू नतमस्तक हुन्थे, पथिकहरू छायालाई अनुग्रह ठान्थे, पक्षीहरू उसका शाखामा आसन जमाउँदै प्रभातस्तोत्र पाठ गर्दथे ।

ऊ आफ्नो फैलावटलाई कृपा सम्झिन्थ्यो, छायालाई उपकार र अरूको निर्भरतासमेत ऊ आफ्नै महिमाको प्रमाण सम्झिन्थ्यो । आफ्ना शाखा-प्रशाखामा चढेर आकाश नाप्ने लताहरूलाई पनि उसले आफ्नै वैभवको हरित अलङ्कार ठानी उचालिरह्यो । अहिले त्यस वृक्षलाई आफ्नै पातहरूले त्यागेका रहेछन्, प्रभातसङ्गीत सुनाउने पक्षीहरू डेरा सरिसकेछन्, पथिकहरूले अर्को शीतल चौतारी रोजेका रहेछन्, केवल लताहरू उसको शुष्क अङ्गलाई लपेट्दै बाँकी रस चुस्न लिप्त देखिन्थे । ग्रामवासीहरु प्रसन्न मुद्राका साथ उसको फेदमा बन्चरो चलाउँदै थिए । ऊ ढलेपछि बल्ल ज्ञात भयोः उसको चुरो त धेरैअघि नै धमिराको गोलोले भित्रैदेखि भ्वाङ् पारिसकेको रहेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)