काठमाडौँ – नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकारको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले बेलैमा अन्तर्राष्ट्रिय सहयोग र अत्याधुनिक उपकरण परिचालन गर्न नसक्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताउनुभएको हो । उपनेता अर्यालले प्रधानमन्त्रीले हालै दिएको हिलो पन्छाउने मेसिन संसारमै छैन भन्ने अभिव्यक्तिको खण्डन गर्नुभयो । उहाँले विश्वबजारमा यस्ता अत्याधुनिक र शक्तिशाली उपकरणहरू उपलब्ध रहेको उल्लेख गर्दै तथ्यहीन कुरा गरेर सरकार पन्छिन नहुने बताउनु भयो ।
जलविद्युत आयोजनाका सुरुङ (टनेल) भित्र लेदो पसेको भएपनि भित्री पावरहाउसका भवनहरू सुरक्षित हुनसक्ने र त्यहाँ मानिसहरू जीवितै रहने सम्भावना रहेकाले विशेष उद्धार टोली परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बेपत्ताहरूको खोजी, शवको पहिचान र परिवारलाई हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकता दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
एमालेले राहत कार्यमा सरकारलाई असहयोग गरेको भन्ने आरोपको खण्डन गर्दै अर्यालले पार्टीले एक करोड रुपैयाँ राज्यको कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी, ‘ग्रिन आर्मी’ नाम दिइएको समूह परिचालनप्रति आपत्ति जनाउँदै अर्यालले नेपाली सेनाको जस्तै पोसाक लगाएको शङ्कास्पद समूह परिचालन गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभयो। सेनालाई नै विश्वास गरेर परिचालन गर्नुपर्ने उहाँको तर्क छ ।
अर्यालले विपद् पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकारले तत्काल तीनवर्षे गुरुयोजना ल्याउनुपर्ने माग गर्नुभयो । उत्तरी नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने जोखिम औँल्याउँदै उहाँले कोराला जस्ता वैकल्पिक नाकाहरू तत्काल सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले राष्ट्रिय प्रतिष्ठाको विषय बनाएर विदेशी सहयोग अस्वीकार गर्नुभन्दा मानवीय जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल
