शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन: इन्द्र बानियाँ


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 45
    SHARES

हेटौंडा-  बागमती प्रदेशका निः वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले सङ्घीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनः तालिकीकरणको व्यवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको हो ।

 

 

 

 

शनिवार हेटौंडामा आयोजित निर्माण व्यवसायी सङ्घ मकवानपुरको २६ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले सरकार फरक भए पनि राम्रो नीति र निर्णयको समर्थन गर्न सक्ने संस्कारको विकास हुनुपर्ने धारणा राख्नुभयो । सरकारका सबै कामलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिले सकारात्मक कामको समेत उचित मूल्याङ्कन हुन नसक्ने उहाँको भनाइ थियो । लामो समयदेखि निर्माण क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सरकारले ल्याएका नीतिगत व्यवस्थाले व्यवसायीलाई काम अघि बढाउन केही सहज वातावरण निर्माण गर्ने उहाँको विश्वास छ । यद्यपि, नयाँ व्यवस्था कार्यान्वयनसँगै केही निर्माण व्यवसायीले थप समस्या र कठिनाइसमेत भोगिरहेकोतर्फ सरकारको ध्यान जानुपर्ने पूर्व मुख्यमन्त्री बानियाँले बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा रहेको उल्लेख गर्दै देश राम्रोसँग सञ्चालन हुनु नै प्रमुख कुरा भएको बताउनु भयो ।  कुन राजनीतिक दलले सरकार चलायो भन्नेभन्दा पनि जनताले सुखी र खुसी भएर बाँच्न पाउने, इमानदारीपूर्वक काम गरेर जीवनयापन गर्न पाउने वातावरण निर्माण हुनुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसाय पछिल्लो समय गम्भीर समस्यामा परेको भन्दै यसको समाधानका लागि राज्य र निर्माण व्यवसायी दुवै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायलाई अन्य व्यवसायभन्दा फरक ढङ्गले राज्यले संरक्षण र सहजीकरण गर्दै व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको ठुलो हिस्सा पुँजीगत खर्च निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने भएकाले निर्माण क्षेत्र कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको विकास र पूर्वाधार निर्माणमा पर्ने बताउनु भयो । निर्माण व्यवसाय मुलुकको पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई व्यवस्थित बनाउन सरकार र व्यवसायी दुवैले गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ ।

श्रेष्ठले निर्माण व्यवसायीका समस्या समाधानमा राज्यले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने र व्यवसायीहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो ।

त्यसै गरी निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष बालकृष्ण थापाले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका नयाँ व्यवस्थालाई कर्मचारीले डरका कारण कार्यान्वयन नगर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायीको हितमा कानुनमा व्यवस्था गरिएका विषयलाई कर्मचारीले आवश्यक प्रक्रिया पूरा गरी निर्धक्क कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । थापाले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) र विद्युतीय खरिद प्रणाली (इ–जीपी) सम्बन्धमा निर्माण व्यवसायीका तर्फबाट निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो । इ–जीपी प्रणालीमा निर्माण व्यवसायीका लागि सुरक्षा तथा प्रक्रियागत समस्या देखिएको भन्दै महासंघले सम्बन्धित निकायसँग पटक–पटक छलफल गरेको उहाँले बताउनु भयो ।

सङ्घका मकवानपुर अध्यक्ष बाल गोपाल कँडेलको सभाध्यक्षयतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, निर्माण व्यवसायी महासङ्घ बागमती प्रदेशका अध्यक्ष छत्रबहादुर तामाङ लगायतको मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)