काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठुलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभएको हो ।
काठमाडौँ महानगर प्रहरी बलको आइतबार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौँमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताउनु भयो । उहाँले चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताउनु भयो ।
काठमाडौँको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उहाँको सुझाव छ । एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । श्रेष्ठले पछिल्ला बाढी पहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताउनु भयो । विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उहाँको भनाइ छ । रसुवा भोटेकोसी, सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यहाँ बस्ती र होटल सहितको क्षेत्र नै बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति सतर्क हुनुपर्ने देखाएको बताउनु भयो । हिमालमा रहेका हिमतालहरू फुट्ने सम्भावना रहेकाले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा रहेका सहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उहाँको भनाइ छ । उहाँले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोबल वार्मिङको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको बताउनु भयो । भारत, चीन र अमेरिकालगायतका मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पु¥याएको र त्यसको असर नेपालीले समेत भोग्नुपरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कानुनी राज्य बन्नुपर्छ र कानुनको पालना हुनुपर्छ । त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन । बाढी पहिरोपछि एउटा कुरा मनमा आयो। सोलुखुम्बुको थामेमा आएको बाढीले त्यहाँको बस्ती नै बगायो । म पनि त्यहाँ गएको छु । होटलहरू र मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ एक छिनमा तहसनहस भएको दृश्य कल्पना गर्न पनि गाह्रो हुन्छ ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असर संसारभरि देखिन थालेको छ । विकास आवश्यक छ, तर त्यो व्यवस्थित र वातावरणमैत्री हुनुपर्छ। अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर अन्ततः नेपालजस्ता देशले पनि भोग्नुपरेको छ । नेपालमा हिमताल फुट्ने जोखिम पनि छ । त्यसैले भविष्यमा आउन सक्ने विपद्बाट जोगिन हामी अहिले नै सतर्क र पूर्व तयारी अवस्थामा रहनुपर्छ ।
काठमाडौँ उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठुलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ । चोभारको निकास क्षमता पर्याप्त नभए ठुलो विपद् निम्तिन सक्छ । त्यसैले महानगरपालिकालाई एउटा सुझाव दिन चाहन्छु–चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ । अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् ।
त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ । चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ ।’
श्रेष्ठले कानुनी राज्यको आवश्यकतामा पनि जोड दिनुभयो । कानुनको पालना गराउने क्रममा महानगर प्रहरीले सही काम गरेको भन्दै उहाँले त्यसका लागि पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया
सम्बन्धित समाचार
