काठमाडौँ – श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रसुवालगायत बाढी प्रभावित जिल्लाहरुमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि बताउनु भयो । प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको बताउनु भयो । उहाँले सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाकुबेसी सुरुङमा हाम्रो अध्यक्षज्यूसहितको टिमले काम गरिरहेको छ । त्यहाँ ३ सय जना करिब बेपत्ता हुनुभएको छ । अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ । यो सरकारलाई म प्रश्न गर्न चाहन्छु, त्यसैगरी हिजोअस्तिको चिलिमे हाइड्रो पावरमा पनि लगभग लगभग ६ देखि ८ जना त्यहाँ भित्र बेपत्ता छ भनिएको छ । सरकारको कमजोरीका कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने, बचाउन सक्ने आम नागरिकहरूको अकालमा ज्यान गएको छ ।’
उहाँले खोज, उद्धार र राहतको विषयलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल
