काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा निर्माण सम्पन्न गरेको आधुनिक प्रविधिको हवाइ इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय बिमानलाई हवाइ इन्धन सेवा उपलब्ध गराएको छ । बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा बिमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईमा आयल निगमका तर्फबाट ५ हजार ५ सय ४० लिटर हवाइ इन्धन उपलब्ध गराइएको उपनिर्देशक रामहरी निरौंलाले जानकारी दिनुभयो ।
काठमाडौंको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत निरांैला पहिलो पटक अन्तर्राष्ट्रिय बिमानलाई हवाइ सेवा प्रदान गर्न सहजीकरण गर्ने उदेश्यले पोखरा जानु भएको थियो । उहाँकै सहजीकरणमा पोखरास्थित हवाइ इन्धन डिपोले पहिलो पटक अन्तर्राष्ट्रिय बिमानलाई सहज रुपमा इन्धन उपलब्ध गराएको हो ।
‘पोखरामा अन्तर्राष्ट्रिय उडान भर्ने बिमानलाई लक्षित गरी आयल निगमले आधुनिक डिपो बनाएको छ । सोही डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय बिमान कम्पनीका रुपमा फ्लाइ दुबईमा बुधबार साँझ ५ हजार ५ सय ४० लिटर हवाइ इन्धन भरिएको छ’ निरौंलाले भन्नुभयो ।
उहाँका अनुसार पोखरा बिमास्थलमा आन्तरिक उडान भर्ने बिमानहरुलाई पनि नियमित रुपमा नयाँ डिपोबाटै इन्धन सेवा उपलब्ध गराइएको छ । बिमानस्थल परिसर भित्रै निर्माण भएको डिपो सुरक्षा र सेवाका दृष्टिकोणले नेपालमा रहेका अन्य हवाइ डिपोभन्दा उत्कृष्ट रहेको निरौंलाले जानकारी दिनुभयो ।
पोखरामा तीन हजार ६ सय किलोलिटर क्षमताको इन्धन भण्डारण गृह छ । उक्त डिपो परिसरमा १२ सय किलोलिटर क्षमताका तीन ठूला भण्डारण गृह छन् । सबै भण्डारण गृहहरु अमेरिकन पेट्रोलियम इन्स्टीच्युड (एपिआई) मापदण्डअनुसार निर्माण भएको छ । उक्त डिपोको डिपिआर र परामर्शदाताको काम इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले गरेको हो ।
