काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । सभापति गगन थापाले बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ । १४औं महाधिवेशनपछिको देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएपछि बैठक बस्न लागेको हो । देउवा पक्षमा रहेका करिब ४० जना नेता वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएर १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका छन् ।
समायोजनमा आएका नेताहरूलाई समेत समेटेर कांग्रेसले तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाएको छ । असोज ३ र ४ गते वडा अधिवेशन, ७ गते पालिका अधिवेशन तथा १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ ।
कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
