बुधबार, अशोज ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : महामन्त्री पौडेल


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०८३
  • 36
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले आगामी १५औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले चुनौतीपूर्ण अवस्थामा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको निराशा चिर्दै कार्यकर्तालाई उत्साहित भएर जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

महामन्त्री पौडेलले काठमाडौं महानगरलाई देशभर सन्देश प्रवाह गर्ने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट हुने निर्णय र सक्रियताले सकारात्मक सन्देश दिनुपर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ । तसर्थ, हामीले जिम्मेवार ढंगबाट भूमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ ।’

महामन्त्री पौडेलले १५औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने पार्टीको इच्छा रहेको पनि बताउनुभयो । उहाँले पार्टीका सबै नेतालाई समेटेर अघि बढ्ने कांग्रेसको योजना रहेको उल्लेख गर्दै आन्तरिक असन्तुष्टि र दूरी घटाएर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । कसैलाई अपमान गर्ने वा ठेस पुर्‍याउने आफ्नो मनसाय नरहेको स्पष्ट पार्दै पौडेलले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही नेताहरू अझै बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौँ कि पार्टीको मूलधारमा आइदिनुहोस् । नेपालको परिवर्तन प्रक्रियाको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ, त्यो क्षमता र ल्याकत कांग्रेससँग छ । यसलाई आम नेपाली समाजमा थप विश्वसनीय बनाउनु नै हाम्रो प्रमुख ध्येय हो ।’

महामन्त्री पौडेलले कांग्रेसभित्रका नेताहरूलाई मात्र नभई पार्टीबाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिलाई समेत कांग्रेसप्रति आकर्षित गर्ने वातावरण निर्माण भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)