काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २ दिन पर सारिएको छ ।
देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले दुई दिन सार्ने निर्णय गरिएको हो ।
असोज १६ गतदेखि शुरु गर्ने तय भएको महाधिवेशन असोज १८ गतेबाट गर्ने गरी नयाँ मिति तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा १५औं महाधिवेशनको उद्घाटन गर्ने तय भएको उहाँको भनाइ छ ।
१५औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिकाका अधिवेशन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभा अन्तर्गतका क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइरहेको पनि उहाँले बताउनुभयो ।
