काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको शुभसाइतमा गुरुपुरोहितको हातबाट दशैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधवार बिहान नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको शुभसाइतअनुसार १० बजेर २६ मिनेटमा उहाँले विधिपूर्वक टीका ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित धार्मिक विधिअनुसार राष्ट्रपति पौडेललाई मूल गुरु तथा पुरोहितहरूले वैदिक मन्त्रोच्चारणसहित नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइदिएका थिए ।
साइतको टीका ग्रहणपछि पुरोहितहरूले उहाँलाई रक्षासूत्र बाँधी आशीर्वाद प्रदान गरेका थिए । आफूले गुरुपुरोहितबाट विधिपूर्वक टीका ग्रहण गरेपश्चात राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरूलाई शुभसाइतको टीका र जमरा लगाइदिनुभएको छ । सो अवसरमा उहाँले पारिवारिक सुख, शान्ति र प्रगतिको कामना गर्दै आशीर्वाद दिनुभएको थियो ।
नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने प्राचीन सांस्कृतिक परम्परा रहेको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिँदै देश, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको सुख, समृद्धि, शान्ति र सुस्वास्थ्यको कामना समेत गर्नुभएको छ । पारिवारिक टीका तथा आशीर्वाद आदानप्रदान सम्पन्न भएसँगै राष्ट्रपति भवनमा अन्य विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणका लागि टीका लगाउने कार्यतालिका मिलाइएको सचिवालयले जनाएको छ । विजयादशमीको यस अवसरमा शीतल निवास परिसरमा विशेष सांस्कृतिक तथा मर्यादित वातावरण कायम गरिएको थियो । –न्युज एजेन्सी नेपाल
