बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी भूमिमा नेपाली भाषा,साहित्य,कला र संस्कृति : लेख


  • राम लामा अविनाशी , अमेरिका
  • आइतवार, बैशाख २६, २०७८
  • 1.9K
    SHARES

अमेरिकी भूमिमा नेपाली भाषा,साहित्य,कला र संस्कृति

विश्वको सर्वोच्च शिखर एभरेस्ट लगायत कैयौँ हिमालय श्रिङ्गग्खला अबस्थित देश जहाँ सहासिक पर्यटनको सम्भावना छ । बिश्वका शान्तिका दूत भगवान श्री गौतम बुद्धको जन्मस्थल, भगवान श्री पशुपतिनाथ तथा अन्य देबी देउताहरु अबस्थित पुण्ड्य भूमि जहाँ धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । किनकी, बौद्ध र हिन्दू धर्मालम्बीहरुले त्यो भूमिमा पाईला टेक्न मात्र पाउँदा पनि आफुले मोक्ष प्राप्त गरेको महशुस गर्दछन् ।

पहाड तराई, उकालो ओरालो, नदीनाला झरना र तलाउ, डाँफे मुनाल,जातिय भाषिक तथा पहिरनको बिबिधता र तिनिहरुको बिबिध सँस्कार र  संस्कृति आदिले धपक्क सिङ्गरिएको देश । यो गोलार्ध भरमा छुट्टै पहिचान बोकेको सुन्दर देश नेपाल । त्यसैले त विश्व पर्यटकहरुको रोजाईको देश हुन सक्ने बलियो सम्भावना रहेको छ ।

बेद व्यास , पाणिनी, बाल्मिकी जस्ता ऋषी महर्षीहरुको तपोभुमी , पुण्यभूमि । आयुर्बेदिक जडिबुटी र जलश्रोतको विशाल भण्डार । याबत बिकासका आधारशिला बन्न सक्ने श्रोतको धनी हाम्रो देश नेपाल । तर यी सबै श्रोतहरुको उपयोग गर्न सक्षम योजनाकार तथा दक्ष जनशक्तीको अभावमा बर्षौँ देखि देश जहाँको त्यही छ । अझ भनौँ अलिअलि भएका कलकारखानाहरु पनि बन्द हुँदै गए ।  लगभग रोजगारको अवसर शून्य बनेको देशका हामी निरिह जनता ।

 हामी जनताहरु विश्वले गरीब राष्ट्रको सुचिमा राखेको हरियो रङ्गको पास्पोर्ट बोकेर परदेशिन वाध्य भयौँ । कोही आफ्ना बृद्ध बाबुआमा र आफुले आधा पेट खाएर पनि आफ्ना बच्चालाई पेटभर स्तन पान गराउने अर्धाङ्गिनीको अनुहारमा खुशी देख्ने चाहनामा त कोही स-साना बाल बच्चाको  पालन पोषण र उज्जल भविश्य बनाउने रहर बोकेर हावाई जहाज चड्यौँ ।

कोही जापान , कोरिया , मलेशिया जस्ता औध्योगिक राष्ट्रहरुमा पुग्यौँ र मसिनको रफ्तार सँगै हात खुट्टा चलाऊन वाध्य भयौँ । कोही खाडीमुलुकहरुमा पुग्यौँ र त्यहाँको तातो बालुवा सँग पौँठे जोरी खेल्दै रगत पसिना सँग डलर साटेर नेपाल पठाउँन बिबस भयौँ ।  सोही डलर नेपाल पठाएर हाम्रो घर परिवार मात्रै चल्ने होइन,  देशको अर्थतन्त्रको मुख्य आधार पनि यही रेमिट्यान्स बनेको छ ।

कोही आफ्ना अविभावकद्वारा आफ्नो पुर्ख्यौली थलो बेचेर आफुलाई उच्च शिक्षा हासिल गर्न बिदेश पठाईयौँ । हामी खुशीले गद-गद हुँदै उज्जल भविश्य खोज्ने सपना बोकेर अमेरिका, बेलायत अस्ट्रेलिया भास्सियौँ  । पढाईको खर्चको पुरा भार अविभावकलाई नपरोस भनी खर्च जुटाउन भारतीय भाइसाहेबका रेष्टुरेन्टमा डेक्ची ड्रावर बन्यौ त कोही ग्राहकले खाएका जुठा भाँडा उठाउँदा रोएको मनबाट अमिलो हाँसो मुहारमा निकाल्दै ग्राहकलाई प्लिज वेल्कम भन्दै आफ्नो पढाईको खर्च जुटाउँने गरेको बिगत धेरै पुरानो भएको छैन ।

जेहोस, ती कष्टकर दिनहरु पारगरी अब धेरै जसो हामी नेपालीहरु सक्षम भई आ-आफ्नो पेशा तथा ब्यवसायमा स्थापित भईसकेको अवस्था छ । एक्लो ज्यान बिदेशिएकाहरु बिदेश कै नागरिक बनी सकेका छौँ । आफ्ना सपरिवारलाई बिदेशमै बोलाएर रमाउन थालिसकेका छौँ ।

बिदेशको नयाँ परिवेशमा रहँदै बस्दै जाँदा आ-आफ्ना सँस्कारका विधि पुरा गर्नु पर्ने बेला आए । कहिले न्वारन, छेवर, ब्रतबन्ध अनि बिहे त  कहिले ब्यवसाय पूजा, घर पूजा र कहिले गाडी पूजा । कहिले चाड पर्व । सबै जात जातिका तथा धर्मका आ-आफ्ना सँस्कार अनुसारका रिती रिवाज पुरा गर्न उपयुक्त सामुदायिक स्थानको अभाब महशुस हुन थाल्यो । कोही-कोहीले यतै तिरको धर्म तथा सँस्कार अबलम्बन गरी जीवन गुजार्न थालेकाहरु पनि छन । तर,  अधिकाँसले भने परापुर्व काल देखिको पुर्ख्यौली सँस्कारलाई निरन्तरता दिईरहेका छौँ ।

सोही क्रममा अमेरिकाका हरेक शहरमा बस्ने बिभिन्न जनजातिहरुले समुहगत रुपमा आ-आफ्नो परम्परा बिदेशी  भूमिमा पनि जोगाउन कटिबद्ध देखिन्छन् । चाहे त्यो नेवारहरुको म्हा: पूजा होस या तमाङगहरुको सोनामा लोछर , चाहे त्यो गुरुङ्गहरुको तमु ल्होसार या शेर्पाहरुको ग्याल्पो ल्होसार, चाहे त्यो मगरहरुको भूमि पूजा होस या राइ लिम्बुहरुको उध्यौली , चाहे त्यो मधिसेहरुको छट् पर्व होस या चौधरीहरुको माघीपर्व । आ-आफ्नो समुहमा आफु बसेको शहरमा जमघट गरेर मनाउने चलन अब त पुरानो हुन थाल्यो ।

जाती बिशेष मात्र नभएर सबै जात जातिका सामुहिक चाडपर्वहरु मनाउँदा धेरैजनाको जमघट हुने हुँदा अमेरिकाको बिभिन्न शहरहरुमा पूजाआँचा गर्नलाई हिन्दू र बुद्ध मन्दिर बन्न थाले । अन्य जमघट र भोज भतेर गर्नकोलागि सामुदायिक भवन बनाईन थाले ।

विश्व भरी छरिन थालेका नेपालीहरुको साहित्यिक पाटोको थालनी तथा निखारता ल्याउनको लागि सिङ्गो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लागि परेको छ । अचेल अमेरिकी  भूमिमा बस्नेहरु द्वारा सृजित धेरै साहित्यिक  कृतिका किताव र गीत तथा गजलहरु बजारमा पढ्न र सुन्न पाईन्छन । हुँनत, एन आर एनले पनि नेपाली भाषा तथा साहित्य समिती गठन गरी उल्लेख्य कार्यहरु गरी रहेको छ ।

नेपाली र अमेरिकी स्थानीय गतिबिधीहरुलाई नेपाली समुदायका बिच पुर्याउन दर्जनौँ अन्लाईन नेपाली मिडियाहरु हरपल कृयासिल छन् ।

अन्य गतिबिधिहरुमा सँस्थागत रुपमा कृयासिल प्रतिनिधि पात्रको रुपमा केही उदाहरणहरु यहाँ प्रस्तुत गर्दछु । यो छोटो लेखमा सबैका बिबरणहरु समेट्न असमर्थ भएकोमा क्षमा चाहन्छु ।

 क्यालिफोर्नियालस एन्जलस:

 श्री पशुपतिनाथ तथा बौद्ध फाउन्देशनको अग्रसरतामा २०१० मा १० लाख ५० हजार डलरमा चर्च किनेर हिन्दू तथा बुद्ध मन्दिरमा परिणत गरिएको थियो । भगवान श्री पशुपतिनाथ र अन्य देवी देउता लगायत बुद्धका मुर्तिहरु नेपालबाट मगाएर प्राण प्रतिष्ठाको विधि पुरा गरी पूजाआजा गर्न थालिएको पनि झन्डै १० बर्ष भईसकेको छ । जहाँ नेपाली पूजारिले पूजापाठ गर्ने गर्नुहुन्छ । लस एन्जलस बासीहरुले हरेक चाड पर्व र बिहे बर्तवन्ध साथै अन्य धार्मिक पर्वहरु त्यही सामुदायिक भवनमा गर्दै आएका छौँ । २०२१ देखी काजक्रिया गर्ने कृयापुत्री भवनसमेत सुरु गरिएको छ । नेपाली भाषा सन्चालन गरी नयाँ पिढीँलाई नेपाली सकाइँदै आएको छ ।

यस क्यालिफोर्निया क्षेत्रमा नेपाली परिकार अमेरिकी जनताको जिब्रोसम्म पुर्याउन तारा हिमालय कुजिन कटिबद्ध छ । यहाँको पर्यटकीय पहाडी क्षेत्र बिग बियरमा हिमालयन रेष्टुरेन्ट सँचालनमा छ ।

नेपालमा निर्मित हस्तकलाका सामान लगायत सुती तथा अन्य तयारी पोषाकहरु आयात गरेर नेपालको रोजगारीमा टेवा पुर्याउने दर्जनौ नेपाली ब्यपारीहरु रहेका छौँ । हुँनत, यस्ता व्यापारीहरु अमेरिकाका अन्य मुख्य-मुख्य शहरहरुमा पनि हुनुहुन्छ ।

सन्फ्रान्सिस्को:

 लामो समयदेखि नेपालीहरुको हरेक गतिबिधी गर्दै आएको नेपालीज असोसियसन अफ नर्दन क्यालिफोर्निया (NACC) नामक सस्थाले मन्दिर बनाउन जग्गा समेत किनिसकेको छ । तर बिबिध कारणबस काम अगाडि बढ्न सकिरहेको छैन । पिस फाउण्डेशनले भने हरेक बर्ष शान्तीर्याली गरी बुद्ध धर्मको प्रचारप्रसार गरीरहेको छ । अन्य जातीय तथा समुदायहरुले आ-आफ्नो संस्कृति बचाउने कार्यको पहल गरिरहेका छन् जुन सह्रनीय कार्य हो ।

काठमाण्डु रेष्टुरेन्ट, टेस्ट अफ हिमालय ,कुजिन अफ नेपाल,लिटल नेपाल,बेस क्याम्प,डान्सिङ्ग याक रेस्टुरेन्ट एण्ड बार ,देउराली,नेवा,सेर्पा किचन यार्सा नेपाली कुजिन, हिमालयन पिजा एन्ड मम, दिया आदि रेष्टुरेन्टहरुले नेपाली  परिकार अमेरिकी जनजिब्रोसम्म पुर्याउँदै आएका छन् ।

वासिङ्टन, :

यहाँ एसिया प्यासिफीक सम्बन्धी मामला हेर्ने आयुक्त मोहन गुरुङ्गज्युले अमेरिकी १२ कक्षासम्म नेपाली भाषाको मान्यता दिलाई ४ क्रेडिट सम्मको सुबिधा पाउने ब्यबस्था गर्नु भएको थियो । यो नै नेपाली भाषाले मान्यता पाएको पहिलो सफलता हो । नेपाली खाना खुवाउन एभरेस्ट किचन नामको रेष्टुरेन्ट सन्चालनमा छ । ६  बर्षका र ३ बर्षका बाबुहरुले वि लभ ममज नामक किताब प्रकाशन गरेका छन् ।  यो किताब अमाजोनमा पनि उपलब्ध छ । नेपाल सियाटल सोसाईटी, गुरुङ्ग , नेवार , शेर्पा  आदिले आ-आफ्नै सँस्था खोली आ-आफ्नो परम्परा अनुसार कार्य गरीरहेका छन् । नेपाली नयाँ पिढिका लागि पनि नेपाली भाषा कक्षा सन्चालन गरिएको छ ।

कोलोराडो:

बोल्डर शहरमा नेपाली गार्मेण्ट तथा हस्तकलाका सामानहरु बेच्ने पसलहरु ठूलै सँख्यामा रहेका छन् । बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा सँचालनमा छ । नेपाल गएका पिस्कोरहरु मिलेर सुरु गरेको रक्की माउण्टेन पछि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको रुप लिएर नेपाली समुदायलाई नै हस्तान्तरण गरियो । अहिले यो सँस्था र नेपाली घर नामक सँस्था दुबैले नेपाली चाडबाडहरु मनाउने तथा अन्य कार्यक्रमहरु गर्दै आएका छन् । यहाँको ग्लोबल नेपाली चलचित्र अवार्डले हरेक बर्ष नेपाली सिनेमाका बिशिष्ट कलाकारहरुको मुल्याकन गरी अमेरिकामा बोलाएर भब्य कार्यक्रमकाबीच पुरस्कृत गर्ने गरेको छ ।

टेक्सस डल्लास:

 नेपाली समाज टेक्सास नामक सँस्थाको पहलमा सन २००९ मा करीब ४ लाख ५० हजार डलरमा जग्गा किनेर हिन्दू तथा बुद्ध मन्दिर बनाइएको  थियो । उक्त मन्दिरमा नेपाली संस्कृति र सँस्कार अनुसार पूजाआजा हुँदै आएको छ र चाडपर्वहरु मनाउँदै आईएको छ । नयाँ पिढीका बाल बच्चाहरुले मातृभाषा सिकुन भनेर १ देखी ९ कक्षासम्मको कक्षा सन्चालन हुँदै आएको छ ।

नेपालीहरुको जन घनत्व बढ्दै जाँदा उक्त मन्दिर परिसर पर्याप्त नभएको महशुस हुँन थाले पछि अर्को १५ हजार बर्गफिट ओगटेको भवन सहित करीब ९ एकड जग्गा किनीसकिएको छ । त्यसमा पूर्ण सुबिधा सम्पन्न मन्दिर, नेपाली पाठशाला र नेपाली बजारसमेतको ब्यबस्था गरिने भएको छ ।एभरेस्ट रेष्टुरेन्ट, हिमालयन अरोमा,साङ्रिला ग्रिल, पिक रेस्टुरेन्ट एन्ड बार आदिले नेपाली खाना खुवाउने गरेका छन् ।

अस्टिन :

ग्रेटर अस्टिन नेपाली समाज नामक सँस्थाको अगुवाईमा नेपालका चाडपर्वहरु मनाउनका साथै नेपाली भाषाको कक्षा सँचान्लनको सुरुवात गरेको छ । हाल सालै ४ लाख ७ हजार अमेरिकी डलरमा ७ कोठे भवन सहित २.६ एकड जग्गा खरिद गरीसकेको छ । त्यसमा हिन्दू र बुद्ध मन्दिर लगायत सामुदायिक भवन बनाउने योजना रहेको छ ।हाल,नेपाली भाषा पाठशाला सन्चालनमा छ । नेपाली खाध्य सामाग्री बेच्न अन लाईन पसल खोलिएको छ ।

भर्जिनिया:

 नेपाली अमेरिकी सामुदायिक केन्द्र (NACC) नामक सँस्थाको पहलमा मन्दिर तथा समुदायिक भवन स्थापना गरिएको छ । जहाँ हरेक नेपाली गतिबिधी लगायत नेपाली भाषा कक्षा सन्चालनमा छ । यहाँँको अर्को सँस्था अमेरिका नेपाल सहयोगी समाजले नेपाली पाठ्य पुस्तक तयार पारी अमेरिकाभरी बितरण गरीरहेको छ र आबश्यक परेको ठाउँमा अन्लाइन कक्षा पनि सन्चालन गरीरहेको छ । सबै थरी नेपालीको साझा छहारिको रुपमा आफुलाई उभ्याउदै अन्तत्वगत्वा भर्जिनियालाई मिनी नेपालको रुपमा विकसित गर्दै लैजाने दूरगामी योजना रहेको छ ।

न्युयोर्क:

लालीगुराँस, याक, थकाली किचन,बाजेको सेकुवा , खाना घर , काठमाडौं फ्युजन, भान्छा घर, भिम्स क्याफे, काठमाण्डौ किचन,रेड पाण्डा, गोर्खा, वुड साईड क्याफे, ब्याम्बु किचन, हिमालयन करी हाउस आदि रेष्टुरेन्टहरु रहेका छन् । ग्रीन तारा सुपरमार्केटले नेपाली सामाग्रीहरु उपलब्ध गराएको छ। क्विन्स ट्रेडरले नेपाली ज्वेलरीहरु बेच्ने गरेको छ । नेपाली हस्तकला बालगोपाल महर्जनले र केशवराम राइले बेच्ने गरेको भेटिएको छ । बिजय नकर्मीबाट नेपाली नृत्य प्रशिक्षाण हुन्छ । पासाङ्ग सेर्पाद्वारा नेपाली बार्बर सप सन्चालनमा ल्याईएको छ ।

 अमेरिका नेपाल साँस्कृतिक प्रतिष्ठानले हरेक साल नेपाली नयाँँबर्ष नेपाली शैली र परम्परा अनुसार मनाउँदै आएको छ । नेपाल डे परेडले नेपाली कला तथा संस्कृतिको परिचय दिंदै आएको छ । भूतपूर्व नेपाली आर्मी डे परेडले ठेट नेपाली  संस्कृतिको सम्बर्धन र प्रबर्धन गर्दै आएको छ । नेपाली राजदुताबासले हरेक बर्ष नेपाली कला संस्कृतिको र पर्यटन आदिको प्रबर्धन गर्दै आएकोछ ।ज्याक्सन हाइट नजिक एन आर एन को अगुवाईमा माउण्ट एभरेस्ट बैंक बनेको छ । सङ्रिला इन्टर्नसनल ग्रुप ऐेन्सीलले रेमिटेन्सको काम गर्नुका साथै नेपाली हस्तकलाका सामाग्रीहरु बिक्री गर्दछ ।

 नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको बाल्टिमोर क्षेत्रमा नेपाली कला र संगीत सम्बन्धि कार्यक्रम प्राय भई रहनु स्वभाबिकै मानु पर्दछ । ठेट नेपाली खाना खुवाउन कथामान्डु किचन,माउन्ट एभरेस्ट रेस्टुरेन्ट,लुम्बिनी, नमस्ते,बटर चिकन कुमारी, नेपाल हाउस, हिमालयन हाउस आदि तल्लिन छन् । अमेरिकाभरका प्राय नेपाली रेष्टुरेन्टहरुले नेपालका हस्तकलाका सामाग्रीहरु सजाएर नेपाली कलाको प्रबर्धनसमेत गरेको भेटिन्छ ।

सन १९९७ मा करीब २ लाखमा लहातहाममा घर जग्गा किनेर हिन्दू तथा मन्दिर स्थापना गरिएको थियो । बढ्दो नेपाली जनघनत्वले गर्दा ठाउँ अपर्याप्त भएको महशुस गरी विल्सभिलमा ११ एकड जग्गा किनिएको छ । छिट्टैनै त्यहाँ मन्दिर स्थापना गरिने छ । यता मेरिल्याण्डको ग्लेनार्ममा २०१८ मा ७ लाख डलरमा ३० एकड डलरमा घरजग्गा किनेर त्यस्लाई मन्दिरमा परिणत गर्ने कार्य भईरहेको छ ।

बोस्टन:

ग्रेटर बोस्टन नेपाली सोसाइटी (GBNS ) ले धेरै पहिला देखि नै नेपाली चाडबाडहरु मनाउने कार्यक्रमको आयोजना गर्दै आएको छ । हाल, पशुपती बुद्ध फाउन्डेसनको स्थापना गरी देउसी भैले जस्ता कार्यक्रम लगायत महायज्ञ लगाएर चन्दा सँकलन गरीएको थियो । सो अबधीमा १७ लाख डलरमा घर जग्गा किनीएको थियो । अब यस्मा मन्दिर निर्माण गरी भगवान श्री पशुपतिनाथ र बुद्धको मुर्ती राखीने भएको छ । साथै सामुदायिक भवन समेत बनाइएको छ ।

यही बस्दै आउनुभएका नेपाली युबाहरु मिलेर बनेको सुसेली समुह द्वारा नेपाली सँगीत साधना गर्ने क्रममा नेपाली सारङ्गी लगायत नौमती र पञ्चे बाजा समेत बजाउन थालिएको छ । हिमालयन कल्चरल एकेडेमी नामको सँस्थाले गीत संगीत र नृत्य सिकाउने गरेको छ ।सोही शहरमा बाजा रेकर्डिङ्ग स्टुडियो समेत रहेको छ ।

यहाँ एउटा स्रस्टाले रचना गरेको शब्दहरुलाई सुन्दर रस्तरीय गीत तयार पार्ने सम्पूर्ण  सुबिधा यस स्टुडियोमा रहेको छ । हारवर्ड युनिभर्सिटिको आर्ट एन्ड कल्चर बिभागमा सारङ्गि बजाउन सिकाउने श्याम नेपाली न्यु हेम्पसायर, बोष्टन र ओहायोमा अबस्थित हिमालयन् हेरिटेजमा पनि आबद्ध भएको भेटियो । यो सँस्थाले ठेट नेपाली बाजागाजाहरु सारङ्गी, बासुरी, मादलदेखि पञ्चे बाजाहरुसमेत सिकाउने गरेको छ ।

एट्लान्टा :

सन २००९मा नेपाली कल्चरल सेन्टर नामक सँस्था खोली हरेक नेपाली चाडपर्वहरु मनाउँदै आईएकोछ । काठमान्डु किचन र हिमालयन स्पाईस नामक रेष्टुरेन्टहरुमा नेपाली खाना खुवाइन्छ ।

भुटानिज नेपाली:

पुर्ख्यौली नेपाल बासीहरुको तुलनामा भुटानिज नेपालीहरु नेपालको धार्मिक सँस्कार र संस्कृतिको सम्बर्धन र प्रबर्धन गर्नेमा अगाडि रहेको भेटिन्छ । ग्लोबल भुटानिज हिन्दू अर्गनाइजेसन (GBHO) अतिनै जुझारु रुपमा लागेको भएटिएको छ । नेपाली भाषाका कक्षा , नेपाली वाध्यबादन, गीत, सँगीत तथा नृत्य, भजन कीर्तन आदि प्रशिक्षाणका कक्षाहरु सन्चालनमा भुटानिज नेपाली समुदायका अगुवाहरु निकै कृयाशिल छन् ।

ओहायोको शहरमा नेपाली रेडियो समेत सन्चालनमा छ ।

केण्टकी र ओहायोमा नेपाली खाध्य सामाग्री र नेपाली पहिरनका लुगा र गहनाका पसलहरु प्रसस्तै छन् । सुन चाँदिका गहना बनाउने पसलहरु पनि छन् । भुटानिज नेपालीहरु जसरी नै हामी सबै नेपालीहरु लाग्नेहो भने अमेरिकी तथा अन्य समुदाय पनि हाम्रो सँस्कार र  संस्कृतिप्रति आकर्षित हुँने छन् भन्ने कुरामा आशाबादी हुन सकिन्छ ।

 

राम लामा अविनाशी अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)