- फाईल फोटो
काठमाण्डौं। सरकारले जारी लक डाउनको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक डाउनको अवधि १२ दिन थप गरेको हो । यसअघि थपिएको समयअुनसार जेठ २० गते सम्म लक डाउन जारी गरिएको थियो । लक डाउनको मोडालिटीका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको छ । अर्थ÷सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्त खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् । सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । शनिबार एकैदिन १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
शनिबार नै बसेको सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ । अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँले बतउाुनभयो ।