२२ कात्तिक, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर जनताको चाहनाअनुरुपको काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सोमवार प्रदेशसभाको बैठकमा विश्वासको मत मागेपछि अन्य राजनीतिक दलका नेताहरुले उठाएको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर जनताको चाहनाअनुरुपको काम गर्ने बताउनुभएको हो । उहाँले अबको तीन महिना भित्र प्रदेश सरकारले श्वेतपत्र जारी गरी विगतको सरकारको कामहरु जनतालाई जानकारी गराउने पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशको आम्दानी बढाउने, खर्च घटाउने, निर्वाचन क्षेत्रहरुमा विनियोजन गर्ने विकास बजेटहरुमा विगत वर्षदेखि हुँदै आएको असन्तुलनलाई सन्तुलन गर्ने, स्वास्थ्य क्षेत्रमा रकम विनियोजन गर्र्ने विषयलाई महत्व दिने, केन्द्र सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराएमा आन्तरिक श्रोतबाट करारमा कर्मचारी भर्ना गरेर भए पनि समयमै योजना सम्पन्न गर्ने नीति लिने, योजनाको लागि विनियोजित बजेट खर्च गर्न नसकिने आजको जो स्थिती छ, समाधान गर्न हाल भएका कानूनलाई आवश्यक परे संसोधन गर्दर्छौँ, सरकारद्वारा विनियोजित बजेटको समयमै खर्च गर्ने, सबै काम सम्पन्न गर्ने, क्यालेन्डर बनाएर काम गर्छौं, तोकेको समयमै सम्पन्न गर्ने कर्मचारीलाई उचित पुरस्कारको बन्दोबस्त गर्ने पनि जानकारी दिनुभयो । उहाँले प्रदेश सरकार सञ्चालन ऐन बनाएर काम अघि बढाउने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्योगहरुलाई प्राथमिकता दिएर प्रदेशको हैसियत, इज्जत, प्रगतिलाई माथि उठाउने गरी सञ्चालन गर्ने पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले सर्वहारा, श्रमजीवि, किसान, मजदुर, श्रम गरेर खाने वर्गले न्याय पाएको महशुस हुनेगरी सरकार सञ्चालन गर्ने बताउँदै समाजवाद उन्मुख कार्यक्रम तयार गरी दलित, एकल महिला, लोपोन्मुख जातीको उत्थान जीवन यापनका कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘कुनै कुनै मित्रहरुले विश्वासको मत लिँदा कुनै कार्यक्रम आएनन्, कार्यक्रम बिना विश्वासको मत लियो भन्नुभयो, वागमती प्रदेशमा हामीले चाल्नुपर्ने धेरै कामहरु छन्, नीतिगत रुपमै पनि हामीले गर्नुपर्ने धेरै कामहरु छन्, पहिला त विगतको ३ वर्ष प्रदेश सरकार अघि बढ्यो, ३ महिना भित्र यो सरकारले श्वेतपत्र जारी गर्छौं, विगतको सरकारले के ग¥यो, कति ग¥यो, के बाँकी रह्यो, के गर्न नहुने काम ग¥यो जारी हुनेछ, म सम्पूर्ण जनता समक्ष जानकारी गराउँछु, आर्थिक अनुशासनलाई पूर्णतया पालना गर्छौं, फजुल खर्च घटाउँछौँ, अति आवश्यक तथा नगरी नहुने खर्चमा व्यवस्थित गर्छौं, प्रदेशको आम्दानी बढाउँछौँ, खर्च घटाउँछौँ, जनताको जायज मागलाई सम्बोधन गर्ने नीति लिन्छौँ, प्रदेश निर्वाचन क्षेत्रहरुमा विनियोजन गर्ने विकास बजेटहरुमा विगत वर्षहरु देखि हुँदै आएको असन्तुलनलाई सन्तुलन गर्छौं, अहिले पनि कुनै निर्वाचन क्षेत्रभित्र साढे ३ वर्ष भित्र बहुवर्षिय योजना बनेको छैन, कुनै निर्वाचन क्षेत्रमा धेरै ठूलो रकम परेको छ, बजेट विनियोजनमा सांसदहरुबीच पक्षपात गर्दैनौँ, स्वास्थ्य शंकटको यस अवस्थामा स्वास्थ्य क्षेत्रमा रकम विनियोजन गर्र्ने विषयलाई महत्वका साथ काम गर्छौं, अस्पताल, उपकरणहरु दिने कुरामा ध्यान दिन्छौँ, असम्भव योजनामा हात हालेर समय र श्रोतलाई बर्बाद गर्दैनौँ, सम्भव भएसम्मका वागमती प्रदेशको शिर उचो बनाउने कुरामा कार्यान्वयन गर्ने कुरामा हामी ध्यान दिन्छौँ, केन्द्र सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराएमा आन्तरिक श्रोतबाट करारमा कर्मचारी भर्ना गरेर भए पनि समयमै योजना सम्पन्न गर्ने वातावरण बनाउँछौँ, नदी किनारमा नदीजन्य सामाग्रीहरुको निश्चित सिस्टम बनाएर कानूनि व्यवस्था गरेर वातावरणलाई खलबल हुने स्थिती सिर्जना नगरीकन हामी काम गर्न दिन्छौँ, योजनाको लागि विनियोजित बजेट खर्च गर्न नसकिने आजको जो स्थिती छ, समाधान गर्न हाल भएका कानूनलाई आवश्यक परे संसोधन गर्दर्छौँ, सरकारद्वारा विनियोजित बजेटको समयमै खर्च गर्ने, सबै काम सम्पन्न गर्ने, क्यालेन्डर बनाएर काम गर्छौं, तोकेको समयमै सम्पन्न गर्ने कर्मचारीलाई उचित पुरस्कारको बन्दोबस्त गर्दछौँ, त्यस्तो काममा भूमिका बेठीक गर्नेलाई अनुशासन भित्र राख्छौँ, योजना निर्माण र सञ्चालनका क्रममा वर्तमान संविधानको खरिद ऐनका कारण समस्या भएमा आवश्यक संसोधन गरी काममा सक्रियता ल्याउने काम गर्छौं, प्रदेश सरकार सञ्चालन ऐन बनाएर काम अघि बढाउँछौँ, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्योगहरुलाई प्राथमिकता दिएर प्रदेशको हैसियत, इज्जत, प्रगतिलाई माथि उठाउने गरी सञ्चालन गर्छौं, ऐन नियम र हाम्रो कार्यक्रमले दिन नसकिने जनताबाट आएको गुनासो, निवेदन र अनुरोधलाई सम्बन्धित फाँटका कर्मचारीहरुबाट एक हप्ता भित्र समाधान गर्ने बन्दोबस्त मिलाएर सुशासन दिने कोशिष गर्छौं, सर्वहारा, श्रमजीवि, किसान, मजदुर, श्रम गरेर खाने वर्गले न्याय पाएको महशुस हुनेगरी सरकार सञ्चालन गर्छौं, समाजवाद उन्मुख कार्यक्रम तयार गरी दलित, एकल महिला, लोपोन्मुख जातीको उत्थान जीवनयापनका कार्यक्रम सञ्चालन गर्छौं ।’
मुख्यमन्त्री पाण्डेले विगतका विकृति, विसंगतीलाई अन्त्य गर्ने, सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, मितव्ययी सरकार चलाउने बताउँदै संविधान अनुरुप सरकार चलाउने बताउनुभयो । उहाँले विगतमा मन परेन भनेर संविधान नै च्यात्ने संसद विघटन गर्ने काम भएको भन्दै आफ्नो सरकार संविधान अनुसार नै चल्ने बताउनुभयो ।
