न्यूयोर्क, १३ चैत : संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ ।
यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ । सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो ।
अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् ।
कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् ।
अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ ।
न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् । न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ ।
वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गरेका छन्। । बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध गरिएको छ। ।
