चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १ बजेसम्मको विवरणअनुसार ५ सय ५४ जना अझै बेपत्ता रहेका छन् ।
विपत्ति लगत्तै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । उद्धारकर्ताहरू कम्मरसम्म आउने बाक्लो हिलो र लेदो छिचोल्दै पहिरोग्रस्त क्षेत्रको मुख्य भागसम्म पुग्ने प्रयास गरिरहेका छन् । कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।
चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने यो नाका नेपालसँगको व्यापारका लागि महत्वपूर्ण बिन्दु मानिन्छ । पहिरोका कारण भएको जनधनको क्षतिको विवरण संकलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्यलाई स्थानीय प्रशासनले तिब्रता दिएको छ ।
