संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच पुनः शुरु भएको आक्रमणको शृङ्खलाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले बुधबार आयोजित पत्रकार सम्मेलनमा गुटेरेसको तर्फबाट यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । प्रवक्ता दुजारिककाअनुसार इरानमा एक वैवाहिक समारोहमा भएको भनिएको आक्रमणसहित नागरिक हताहतीका रिपोर्टहरूबाट महासचिव अत्यन्त चिन्तित छन् । गुटेरेसले सर्वसाधारणमाथि हुने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्दै युद्धका समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण पालना गर्न संवद्ध पक्षहरूको ध्यानाकर्षण गराउनु भयो । उहाँले मानवीय कानुन अन्तर्गतका भिन्नता, समानुपातिकता र सावधानीका सिद्धान्तहरूलाई सबै पक्षले सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
तनाव बढ्दै जाँदा क्षेत्रीय हवाई क्षेत्र र महत्त्वपूर्ण ढुवानी मार्गहरू नराम्ररी प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । महासचिव गुटेरेसले सैन्य कारबाही तत्काल बन्द गर्न आह्वान गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप उत्तेजना फैलाउने खालका गतिविधि तथा अभिव्यक्तिबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
द्वन्द्व थप चर्किएमा यसको विनाशकारी परिणाम सर्वसाधारण र समग्र मध्यपूर्वी क्षेत्रले भोग्नुपर्ने चेतावनी दिँदै राष्ट्रसंघले मानवीय सहायताका कार्यहरूमा पहिले नै ठूलो दबाब रहेको बताएको छ । मानवीय संकट झेलिरहेको यस क्षेत्रमा थप द्वन्द्वले स्थिति झनै भयावह बनाउने महासचिवको ठहर छ ।
महासचिव गुटेरेसले अमेरिका र इरानलाई तत्काल कूटनीतिक संवादमा फर्कन आग्रह गर्दै वार्ता र छलफलका माध्यमबाट मात्रै व्यापक र दिगो समाधान प्राप्त गर्न सकिने स्पष्ट पार्नुभएको छ ।
