सरकारले तोकेका अत्यावश्यक सामान बाहेकका सामाग्रीहरु रसुवा भन्सार कार्यालयले रसुवागढी बाट तत्काल नल्याईने बताएको छ । गृह मन्त्रालय र अर्थ मन्त्रालयले दिएको निर्देशन पालना गरि सुरक्षित रुपमा आयात निर्यातको काम गरिने भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए ।
विपतका समयमा चीन सरकार बाट प्राप्त स्वास्थ्य सामाग्री तथा अन्य संघ संस्थाले कोरोना भाइरस कोभिड १९ बिरुद्ध प्रयोग गरिने सामाग्रीहरु ल्याउने बताएका हुन् ।
बिश्वब्यापी फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण सरकारले देश लकडाउन गरेको अबस्थामा स्वास्थ्य समस्यालाई मध्य नजर राख्दै चिनिया पक्षले केरुङ देखि रसुवागढी सम्म आउने कन्टेनर चालक तथा सामाग्रीको पूर्ण रुपमा स्वास्थ्य परिक्षण गराएर नेपाल पठाउने ब्यबस्था गरि सकेको र रसुवागढी नाकालाई आबस्यक पर्ने स्वास्थ्य समाग्री समेत पठाउने तयारीमा चिनिया पक्ष रहेको उनले बताए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले रसुवागढी नाका खोल्ने निर्णय सार्बजनिक भएपछि रसुवा जिल्लाबासि त्रसित भएका छन् ।
बिश्वब्यापी फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को त्रास आउने गरि काम अगाडि नबढाईने र नेपाल पक्ष पनि स्वास्थ्य प्रति संम्बेदनशील रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी काम गरिने भएकाले त्रसित नहुन स्थानीयबासीमा अनुरोध गरिएको छ ।
रसुवागढी नाकाबाट अहिले अत्यावश्यक सामान मात्र ल्याईने र भिडभाड नहुने पनि भन्सार प्रमुख खड्काले बताए ।
