काठमाडौं, चैत्र १४ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २५ वटा हव अस्पताल तोकेर ज्वरोका विरामी परिक्षण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले हवको रुपमा तोकेको प्रत्येक अस्पताललाइ आवश्यक सामाग्रीको व्यवस्था गर्न १० लाखका दरले वजेट व्यवस्था गरेको छ।
मन्त्रालयले ज्वरोका विरामीले उपचार नपाउने अवस्था आएको भन्ने कुरालाइ सम्बोधन गर्न मापदण्डसहित उपचारको व्यवस्था मिलाएको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मन्त्रालयले माक्स, पन्जा, चस्मा र क्याप लगाएर ज्वरोका विरामीको उपचार गर्न देशभरमा २५ वटा अस्पताललाइ हव बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्रालयले कोभिड १९ प्रभावित देशबाट आएकाहरुलाइ स्थानिय तहले क्वारेन्टाइनमा राख्न र स्थानिय निकायका प्रमुखहरुले नियमित अनुगमन गरेर दैनिक गृह मन्त्रालयमा प्रतिवेदन बुझाउन आग्रह गरेको छ । गृहमन्त्रालयमा प्राप्त प्रतिवेदन स्वास्थ्य मन्त्रालयको समितिमा पठाउने र विश्लेषण गरेर आवश्यक आइसोलेशन स्वाव परिक्षण लगायतको व्यवस्था गरिने पनि सचिव कोइरालाले वताउनु भयो ।
कोभिड-१९ प्रभावित देशबाट आएका नागरिकलाइ विभिन्न ठाउँमा स्थापना गरिएको क्वारेण्टाईन वा आईसोलेसनमा बसेर भाईरसको संक्रमण फैलन नदिई जोखिमबाट आफु बच्न र समाजलाइ बचाउन पनि मन्त्रालयले आग्रह छ । सतर्कता नै रोगबाट जोगिने पहिलो उपाय भएको स्पष्ट पार्दै मन्त्रालयले व्यक्ति व्यक्तिबीच १ मिटर टाढा बस्न, समय समयमा साबुनपानीले हात धुन तथा भिडभाडमा नजान सबैमा आग्रह गरेको छ ।-
