काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको हो । उहाँले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रुपमा विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताउनुभयो । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म सभापतिज्यूलाई साक्षी राखेर यो वर्ष मात्रै बिरामी नै पुगेन भन्दा थाहा छैन । यो मुलुक भित्रका पैसा नभएर आर्थिक रुपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरु हामी काठमाडौँ मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ । अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरुको घोषणा गर्ने सोचिराखेका छौँ । यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरुलाई भन्ने छु । अहिलेको सभापतिज्यू पनि गिरिजा बाबुकै प्रोडक्ट हो । त्यो साधारण सदस्यता हुन्छ नि त्यो गिरिजा प्रसाद कोइरालाको हातबाट साइन गरेर दिल्ली बाहिर मलाई लगेर गराउनुभएको त्यतिबेला दिलीप सापकोटा उपसभापति हुनुहुन्थ्यो मोरङको । साधारण सदस्यता पनि मैले चाहिँ गिरिजा बाबुको हातबाट साइन गरेर लिएको हो । त्यसकारणले गर्दाखेरि अब यो यो फाउन्डेशनलाई अगाडि लाने अब विश्व बजारको त म भन्न सक्दिन । देशभित्रका ७७ वटा जिल्लामा पुर्याउने र सभापति जीसँग कोअर्डिनेशन गरेर काँग्रेसको पक्षमा, नेपाली जनताको पक्षमा र गिरिजा बाबु, स्वर्गमा भएको गिरिजा बाबुको हृदय आत्माले भनौ न। अब हामी हिन्दुहरुले भन्दा आत्मा भन्छौँ। बुद्धिज्ममा चाहिँ चित्र् भन्ने चलन छ, आत्मा हुँदैन भनेको छ। अनात्माको बारेमा पढ्नुपर्छ। अब बुद्धिज्म अनुसार गिरिजा बाबुको चित्र् एकदम प्रफुल्ल हुने गरी हामी काम गर्छौँ भन्ने प्रतिबद्धता गर्न चाहान्छौँ ।’
उहाँले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
