रसुवा, १४ चैत
रसुवामा बिदेशबाट आएका ११ जना निगरानीमा रहेका छन् । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ लाई मध्यनजर राख्दै १४ दिनअघि बिदेशबाट आएका ११ जना निगरानीमा रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
भारतबाट आएका ५ जना, दुवईबाट आएका ४ जना, बंगलादेश र अमेरिकाबाट आएका एक र एक जना गरि ११ जना स्वास्थ्य निगरानीमा रहेको समेत उनले बताए ।
उनीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरुमा अहिलेसम्म कुनै स्वास्थ्य समस्या नरहेको पाइएको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
बुधबारदेखि विदेशबाट फर्केका व्यक्तिको घरघरमा पुगेर निरीक्षण गरिएको थियो । चैत ६ गतेदेखि जिल्लामा सञ्चालनमा रहेका हेल्थ तथा हेल्प डेक्सले विदेशबाट आएका नेपालीको विवरण राखेका थिए । सोही विवरणलाई आधार मानेर उनीहरूको अवस्था अद्यावधिक गरिएको हो।
त्यस्तै बिदेशबाट आएका अन्य व्यक्तिहरुको पनि खोज भइरहेको उनले बताए ।
