काठमाडौँ । सरकारले चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला गरेको छ । माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका आजबाट सामान ल्याउन मिल्ने गरी खुला गरिएको हो ।
चीनतर्फका दुई नाका आजबाट खुल्ला भएनी औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने भन्सार विभागका महानिर्देशक सुमन दाहालले माउण्टेन खबरलाई जानकारी दिए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो ।
नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।
