काठमाडौँ – इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड एक लाख सहयोग प्रदान गरेको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
उनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको बताए ।
हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा ठुलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब रु तीन करोड ५० लाख बराबरको क्षति भएको जनाएको छ ।
आफ्नै संरचनामा ठुलो क्षति भए पनि कम्पनीले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनः स्थापना गरी सेवा सञ्चालनमा ल्याएको थियो ।
