कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ हजार नाघेको छ ।
विश्वभर आठ लाख ७० हजार मानिसहरु कोरोना भाइरसबाट सङ्क्रमित बनेका अमेरिका स्थित जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ । सङ्क्रमित मध्ये झण्डै दुई लाख मानिसहरु उपचार पछि निको भएर घर फर्किएका छन् ।
कोरोनाभाइरस संक्रमणबाट यूरोपमा मात्रै ३० हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसको सङ्क्रमणबाट सबैभन्दा प्रभावित बनेको इटलीमा एक लाख ७ हजार बढीविरामी भएका छन् भने १३ हजार १५५जनाको मृत्यु भएको छ ।
स्पेनमा एक लाख बढी सङ्क्रमित भएका छन् भने नौ हजार बढीको मृत्यु भएको छ । अमेरिकामा एक लाख ८८ हजार भन्दा बढी सङ्क्रमित छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा झण्डै ५७ हजार सङ्क्रमित भएका छन् भने ४ हजार बढीको मृत्यु भएको छ ।
इरानमा ३ हजारको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् । बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैगरी नेदरल्याण्ड्समा ११ शय बढी, जर्मनीमा ८०२ को मृत्यु भएको छ । यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ भने भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ रहेको छ । अन्य दक्षिण एशियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ ।
यसैबीच भारतमा कोरोना सङ्क्रमित भएका एक जना ९३ बर्षिय पुरुष उपचार पछि निको भएर घर फर्किएका छन् । केरलाका ती जेष्ठ नागरिकसँगै देशभर १२३ जना निको भएर घर फर्किएका जनाइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले कोरोना भाइरस दोस्रो विश्वयुद्ध पछिकै ठूलो संकटको घटना भएको बताउदै यसका कारण विश्वका २५ करोड मानिसहरुको रोजगारी गुम्ने बताएको छ ।-
