
काठमाडौं । अन्नपूर्ण क्षेत्रमा गएका हिउँ पहिरोमा परि बेपत्ता भएका मध्ये १ को शव भेटिएको छ । २०७६ माघ ३ गते अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा पुरिएका भरिया निमा तामाङको शव बुधवार भेटिएको हो ।
धादिङ जिल्ला गंगा जमुना गाउँपालिकाका करिब ५० वर्षिय मृतक तामाङको शव २ दिन भइसक्दा समेत ल्याउन सकिएको छैन ।
पिक गाईड नेपाल ट्रेक नामक ट्रेकिङ कम्पनी मार्फत पोटरको रुपमा गएका उनको शव शुक्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याउन लागिएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।
शव भेटिएको जानकारी बुधवार नै आएको भए पनि सम्बन्धित कम्पनीसँग समन्वय गर्दा र मौसमको कारण ल्याउन ढिलाई भएको उनको भनाई छ ।
मृतकको शव बोकेर ल्याउन समय लाग्ने भएकोले हेलिकप्टर पठाउने प्रक्रियामा लाग्दा ढिलाई भएको बताउदै शुक्रबार सेनाको हेलिकप्टर मार्फत शव ल्याएर परिवारलाई बुझाउने उनले बताए ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले छिटो भन्दा छिटो शव ल्याउन पहल गरिरहेको बताए । जुन कम्पनी मार्फत गएका हुन,त्यहि कम्पनीले शव ल्याउनु पर्ने हो,महानिर्देशक घिमिरेले भने,ढिलाई भएपछि अहिले टानले समन्वय गरेर शव ल्याउन निर्देशन दिएको छु ।
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले टानको समन्वयमा शव ल्याउन लागिएको बताए । शव ल्याउने जिम्मा सम्बिन्धित कम्पनीकै हो,प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, पछि बीमामार्फत भुक्तानी हुुन्छ । अहिले सो शव टिम्स कार्डको कल्याणकारी कोष मार्फतको पैसाबाट ल्याउन लागिएको बुझिएको छ ।
यता कम्पनीका म्यानेजर नोर्बु भोटेले आफुले मृतकका परिवारलाई दिनु पर्ने रकम ५ लाख रुपैयाँ पहिलानै दिइसकेको जानकारी दिए । अव बीमाबापतको ५ लाख रुपैयाँ दिन बाँकी छ ,त्यो पैसा टिम्स कार्ड मार्फत दिने हो,उनले भने ।
शव ल्याउन ढिलाई हुनुमा आफ्नो कम्पनी दोषि नभएको बताउदै अरुले त्यहि बीमाबापत दिने पैसा ५/६ महिना लगाउनेमा आफुले तत्कालै दिएको बताए ।
टान पोखराका अध्यक्ष हरि भुजेलले यो काठमाडौं टानसँग सम्बन्धीत भएकोले आफहरुले समन्वय मात्र गरिरहेको जानकारी दिए । छिटोभन्दा छिटो शव ल्याउन हामीले पनि पहल गरेका छौं,अध्यक्ष भुजेलले भने,कल्याणकारी कोषको रकम खर्च गरेर भएपनि शव ल्याउनु पर्छ ।
हिउँ पहिरोमा परि ५ जना कोरियन नागरिक र केहि नेपाली भरियाहरु बेपत्ता भइरहेका छन् । ती मध्ये एक जनाको शव केहि साताअघि फेला परेको थियो ।