रसुवा – प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना, भूमिसुधारको कार्यान्वयन र राष्ट्रियताको संवर्धनमा अतुलनीय योगदान पुर्याए बताउनु भएको छ।
४४ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवा द्वारा आयोजित जरा अभियानको समापन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले बिपी कोइरालाले प्रधानमन्त्री कालमा बिर्ता प्रथाको उन्मुलन र “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने वैज्ञानिक भूमिसुधारको अवधारणा अघि सारेको र यसले सामन्ती भू-स्वामित्वलाई तोड्न मद्दत गरेको थियो भन्नुभयो ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले सधैँ नागरिकको स्वतन्त्रता र समतामूलक समाजको पक्षमा उभिए बताउँदै उहाँले बिपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो राजनीतिको प्रमुख आधार बनाएको बताउनुभयो।
नेपाली काँग्रेसले सञ्चालन गरेको ‘जरा अभियान’ले पार्टी सङ्गठन सुदृढीकरण र क्रियाशील सदस्यता अद्यावधिकका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला र पालिका स्तरमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले बुझाएको प्रतिवेदनमाथि समीक्षा, अनलाइन सदस्यताको डिजिटल विवरण आदान-प्रदान, र पार्टीको १५औँ महाधिवेशन तयारीबारे छलफल भएको थियो।
कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान १ वैशाखबाट सुरु गरेको थियो । १ वैशाखमा सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको थियो । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो ।
जरा अभियानमार्फत कांग्रेसले डिजिटल कांग्रेस आईडी अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो ।
