काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको ग्रीन रनको शुभारम्भ गर्नुभएको छ ।
‘जलवायु जनचेतना जगाउन जुटौं’ नारा साथ ४४ औं बी.पी. स्मृति दिवसका अबसरमा कांग्रेसले ग्रीन रनको आयोजना गरेको हो ।
काग्रेसले भनेको छ- बी.पी. कोइरालाले प्रधानमन्त्री भएको बेला जंगलको राष्ट्रियकरण गर्ने निर्णय आफ्नो सरकार मार्फत गराउनु भएको थियो । आजको वातावरण संकटको समयमा उहाँको त्यो निर्णय दुरदर्शी प्रमाणित भएको छ । पछिल्लो समय संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यमा जलवायु परिवर्तनका असर विरुद्ध लड्न तत्काल कदम चाल्नु पर्ने उल्लेख छ । बी.पी.को त्यो दूरदर्शिता र अहिलेको दीगो विकास लक्ष्यलाई जोड्दै ‘जलवायु जनचेतना जगाउन जुटौं’ नारा साथ कार्यक्रम हुनेछन् ।
बिहान ६ बजे ललितपुर यूएन पार्कबाट ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरिएको छ । ‘ग्रीन रन’ प्रतिस्पर्धीहरू यूएन पार्क—बागमती करिडोर—थापाथली पुल—गुसिंगाल—सानेपा कालोपुल—सानेपा चोक—पुरानो शान्तभवन —सानेपा बिगमार्ट—ठाडो ढुंगा—सरस्वती मन्दीर—भनिमण्डल—एकान्तकुना—जाउलाखेल पुग्नेछन् ।
यसैगरी अप्रतिस्पर्धीका लागि यूएन पार्क—बागमती करिडोर—कुपण्डोल—पुल्चोक—जाउलाखेल अढाइ कि।मी।को रूट तय गरिएको छ ।
काग्रेसका अनुसार ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्नेछ । सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ ।
प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरूषलाई अलग–अलग क्रमश: ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै चौथो, पाँचौ र छैटौंलाई क्रमश: १२ हजार, १० हजार र ८ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । यसका साथै विजेतालाई ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
आजै २० भन्दा बढी सुपरिचित कलाकारहरूद्वारा जलवायु संकटको गम्भीर चित्र झल्काउनेकार्यक्रम पनि रहेको छ । सभापति गगन थापाले क्यानभासमा स्केच गरेर यसको प्रारम्भ गर्नुभएको छ ।
