मृत्युसत्य –शिव लामिछाने
मर्छ जन्मने सत्य हो तर गाह्रो बुझाउन
सम्झना साथको ताजा आउँछ त्यो रूवाउन
धर्तीको अंश हो देह धर्तीमै मिल्न पाउँछ
आत्मा अनन्त जीवन्त देहमा लुक्न आउँछ ।
मर्ने शरीर के आफ्नो, पल एक-एक मर्दछ
युवा– शैशव भेट्दैन, सम्झनामात्र गर्दछ
दुरी जन्म र मृत्युको, हामी जीवन भन्दछौँ
कालको नाम सुन्दैमा किन त्रसित बन्दछौँ !
रोएर काल टर्दैन, मृत्युउत्सव गीतमा
सजाउन सके हुन्छ, बन्छ सार्थक जीवन
उसैको अनुकम्पा यो उही दर्शक, देख्दछ
उघार चेतनामात्र, उही सर्वत्र खुल्दछ ।
हामी मान्छे, चरा, जन्तु, साना कीट र जंगल
करोडौँ जीवका साथ उही रहन्छ पल्पल
छाडेर जब ऊ जान्छ, देह मिल्छ धरासित
मिल्छ, ऊ परमेश्वर् हो प्रेम गर उसैसित ।
शिव लामिछाने
भर्जिनिया, अमेरिका ।