बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शैक्षिक सत्र जोगाउने विकल्प अनलाइन-शशी पन्त


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०७७
  • 1.3K
    SHARES
  • शैक्षिक सत्र जोगाउने विकल्प अनलाइन

“कान समातेर थप्पड लगाउँदा नपढ्ने हाम्रा बच्चाले अब स्क्रिनमा हेरेर पढ्छन् र सिक्छन् भन्नु मूर्खता शिवाय अरु केही होइन । म भने यो भनाइमा कत्ति पनि सहमत थिइन र भैन पनि । किनभने बालबालिका भनेका काँचो माटो हुन्, उनीहरूलाई हामीले जस्तो वातावरणमा हुर्कायौँ, जस्तो संस्कार दियौँ त्यस्तै हुने गर्दछन् भन्ने मान्यता मेरो मन मस्तिष्कमा छ र सधै रहन्छ । हुनत म कहिल्यै थप्पड लगाएर पढाउने बानी नभएकोले पनि होला थप्पड खाएपछि मात्र बच्चाले सिक्छन् भन्ने कुरामा एक रति पनि विश्वास राख्दिन । राम्रो र मायालु बातावरण दिएर उनिहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्दै हौशला बढाएर उनिहरुलाई असल साथै सफल बनाउन सकिन्छ भन्ने विश्वासमा अडिक छु म। हाम्रो विद्यालयले एस ई ई को लागि अनलाइन कक्षा चैत्र देखि नै सुरुवात गर्यो । अरु नयाँ शैक्षिक शत्रको कक्षाहरू पनि वैशाखबाट सुरु गर्ने निर्णय भयो । सुरुका दिनमा जुम एप  नै नसुनेकी म, अब जुम एप  को माध्ययमबाट विद्यार्थीलाई पढाउने त्यसमा पनि अभिभावकको काखमा बसेका विद्यार्थीलाई; मेरो लागि पनि नौलो प्रावधिक प्रयोगको विषय । एउटा छुट्टै नयाँ अनि नौलो अनुभूति, केहि कौतुहलता, केहि उत्साहको सञ्चार पनि भयो । किन भने त्यहाँ कक्षा रुपमा विद्यार्थी मात्र पढाउनु नभइ त्यहाँ त अभिभावकलाई नै पढाउनु थियो । सम्झिँदा पनि निकै अत्यास लाग्ने , एकातिर जुम एप बन्दाबन्दी पछि मात्रै सुनेकी र आफै पनि भर्खर चलाउन सिक्दै गरेकी म, त्यसमाथि पनि स्कुलका प्रधानाध्यापक सहायक प्रधान अध्यापक देखि लिएर अभिभावक सम्मलाई पढाउनु छ । एक घण्टाको कक्षाको लागि तीन घण्टा लगाएर स्लाइड तयार पारेँ । अनि आफैँले तयार पारेको स्लाइड दोहोर्याइ तेहेर्याइ हेरेँ औधि खुसी लाग्यो । निकै साहस बटुलेर पहिलो दिन कक्षा ६ मा प्रवेश गरे जुम एप  मार्फत । सुरुमा अलिकति असहज महशुस भएता पनि विस्तारै सबै सामान्य हुँदै गयो ।दोस्रो दिन कक्षा ७ मा जाँदा त ह्वात्तै साहस बढेर आयो । कक्षा सकेसंगै निकै साहसी कार्य सम्पन्न गरे जस्तो अनुभूति भयो । उत्तिकै खुसी र रमाइलो पनि लाग्यो मनै रोमान्चित भयो । नयाँ प्रविधिमा एक फड्कै मारे जस्तो, म मात्रै होइन विद्यार्थी पनि त रमाएकै पाँए मैले  । पाँच महिना अगाडिकी म अनि पाँच महिना अगाडिका मेरा विद्यार्थी, बिचरा ! हामी दुवै उस्तै थियौ। मलाई स्क्रिनमा हेरेर सिकाउन जति असहज लाग्थ्यो, बच्चालाई स्क्रिनमा हेरेर सिक्न पनि उत्तिकै लाग्थ्यो तर म यो कुरामा विश्वस्त थिएँ कि केही दिनमा नै हामी दुवै यो प्रविधिमा पोख्त हुनेछौँ र यही नै हाम्रो बानीमा परिणत हुनेछ । नभन्दै आज पाँचौ महिनामा प्रवेश गर्दै गर्दा हामी दुवै  पक्ष निकै अभ्यस्त भइसकेका छौँ । दिनको ६, ७ घण्टा स्क्रिनमा बस्नु मेरो लागि सामान्य भइसकेको छ । नजिकबाट नियालेर बेलाबेलामा सल्लाह र सुझाब दिइरहने आदरणीय अभिभावक ज्यूहरू विद्यार्थीको मात्र अभिभावक नभई उहाँहरू मेरा पनि अभिभावक हुनुहुन्छ भन्ने महसुस भएको छ ।

आजको दिनसम्म आइपुग्दा अनलाइन कक्षाले बालबालिकाहरूमा पहिलेभन्दा निकै सक्रियता र परिपक्कता ल्याइदिएको छ । शिक्षकको प्रत्यक्ष निगरानीमा रहँदा र शिक्षकले झकझकाइरहँदा समेत एक हरफ लेख्न र पढ्न गार्हो मान्ने बच्चाहरु आज मेरो पाठ छुट्छ भन्दै जिम्मेवारीपूर्ण तरिकाले लागेको देख्दा निकै गौरव लाग्दछ । साँच्चिकै मूर्ख त हामी त्यतिबेला हुने थियौँ जहाँ २१ औँ शताब्दीको वैज्ञानिक युगमा जन्मेका बच्चालाई अनलाइनको माध्ययमबाट पढाउनु मूर्खता हो भनेर हात बाँधेर बसेको भए सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो भन्ने बुझाइ हुने थिएन होला । आज हिजो अनेक थरी कुरा गर्नेहरु जवाफ विहिन भएका छन् । घरमा बन्द भएर बसेका वेला समेत प्रविधको माध्यमबाट ज्ञान हाँसील गर्ने अवसर मिलेको छ  । फुर्सद भयो कि गेम फेसबुक र टिकटकमा समय विताउने बच्चाहरु गृहकार्य गर्न व्यस्त भएको देखेर अभिभावक दंग छन् मख्ख छन् । सुरुका दिनमा खिसीटिउरी गर्नेहरु पनि आजभोलि खुल्ला ह्दयले प्रशंसा गर्न थालेका छन्, अनलाइन कलासको प्रभावकारिता अझ बढेको छ ।ढिलो चाडो प्रविधिको विकास सगै अवको शैक्षिक यात्रा भर्चुअल नै हुने हो ।

विश्वव्यापी कोरोना महामारीको कारण नेपालमा बन्दा बन्दी सुरुभएसँगै नेपालका धेरै विध्यालयहरुले अनलाइन कक्षा सुरु गर्न अवधारणा अघि सार्दा कतीपयले पैशा उठाउन नाटक गरे भन्ने नकारात्मक चर्चा परिचर्चाहरु गरेका थिए । तर आज त्यो नकारात्मकता हटेको छ । सरकारले पनि अनलाइन भर्ना तथा पठन पाठनको लागि आग्रह पनि गर्न थालेको छ। अनुलाइन कक्षा सञ्चालन निर्देशिका बनेका छन् । शहरी क्षेत्र नीजि विद्यालयहरुलाइ सहज भए पनि गाँउ बस्तिमा र समुदायिक विद्यालय तर्फ सरकारले आवश्यक पूर्वाधार सहित अनुलाइन कक्षा सञ्चालन व्यवस्था गर्नु पर्दछ । शैक्षिक सत्र खेर जान नदिन सरकार, विद्यालय सञ्चालक,  अभिभावक, शिक्षक, शिक्षिका र विद्यार्थी गम्भीर र जिम्मेवार बन्नुको विकल्प तत्कालको लागि छैन भन्न हिचकिचाउनु पर्दैन।   गेम, फेसबुक र टिकटकको लागि मात्र प्रयोग गर्ने इन्टरनेट, मोबाइल र ल्यापटप आज बालबालिकाले आफूले पढ्न र सिक्नको लागि प्रयोगमा ल्याएका छन् । भनिन्छ नि, “जिम्मेवारीले मान्छे परिपक्क बनाउछ ।  त्यस्तै भएका छन् आजभोलि विद्यार्थी भाइवहिनाहरु । शिक्षकलाई प्रत्यक्ष भेट्न नपाउने भएर भोलिपल्टको पाठ अघिल्लै दिनमा पढेर नजानेका कुराहरू शिक्षकलाई सोध्न तयारी भएर बसेका हुन्छन् । एकदिन मात्र भर्चुवल कक्षामा उपस्थित हुन नसक्दा पढाइ छुट्यो भनेर आफैँले महसुस गरेका हुन्छन् । पढाउनु र सिकाउनु मात्रै ठुलो कुरा होइन,ठुलो कुरा त त्यो हो बच्चामा सिक्ने भोक जगाउनु । अनलाइन कक्षा शिक्षण सिकाइ र अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने भोक जगाउन सफल भएको छ । अबका दिन यसको महत्व अझै बढ्नेमा दुविधा छैन ।रहर होस् वा बाध्यता नै सही झन्डै ९० हजार विद्यार्थीको शैक्षिक सत्र खेरजान नदिन सबै भन्दा उत्तम विकल्प बन्नेमा कुनै शंका छैन।

यति कुरा लेख्दै गर्दा आज मलाई त्यो दिनको कुरा मष्तिस्कमा घुमिरहेको छ , जुन दिन मैले हाम्रो त अनलाइन कक्षा सुरु भएको छ भन्दा खिल्लि उडाउँदै भन्थे, “कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैँ के को चर्तिकला हो तिमीहरुको स्कूलको ? ” आफू सँधै नयाँ कुरा सिक्न उत्सुक रहने भएर होला मैले अध्यापन गर्ने स्कुलले त्यो वातावरण सिर्जना गरिदिएकोमा गर्व लाग्थ्यो ।यसको प्रतिउत्तरको लागि मलाई शब्दकोश पल्ट्याइरहनु पर्ने जरुरत थिएन त्यसैले नहिच्किचाइकन भन्न सक्थेँ, समय अनुसार चल्न जान्नुपर्छ । अरुले आविस्कार  गरिदिएको प्रविधिको प्रयोग गर्न पनि सकेनौँ भने कुनै दिन हामी पनि डाइनोसर झैँ लोप भएर जानेछौँ भन्ने कुरामा कुनै शंका छैन । शैक्षिक सत्र सुरु हुने वेलामा सुरुभएको कोभिड १९को महामारी र विश्वव्यापी बन्दाबन्दीका वेला, निकै नै अन्योलतामा नहुनु मामा भन्दा कानो मामा नै ठिक जसरी शुरु भएको अनलाइन शिक्षा आम विद्यार्थीको शैक्षिक सत्र जोगाउने सर्वोत्तम अस्त्र बन्ने विश्वास जगाउन सफल छ।

 

शशी पन्त

भरतपुर चितवन,२७ भदौ

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }