वासिङटन। अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । पूर्वउपराष्ट्रपति जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहनुभएको छ ।अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल हुनुभएको छ ।मतगणना तत्काल रोक्न माग गर्दै उहाँले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाउनुभएको हो ।बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उहाँका समर्थकहरूले मतगणना रोक्न माग गरेका थिएनन् ।
ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको हो । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।
