सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृष्ण भीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०८३
  • 6
    SHARES

काठमाडाैँ ।  भोटेकोसी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ ।

सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहा निर्देशक शुभ राज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ । उहाँकाअनुसार भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवा भीर, कृष्ण भीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो ।

कृष्ण भीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताउनु भयो । नेपाल जिओ टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

 आइतबार गरिएको परीक्षणका क्रममा कृष्ण भीरमा एक चरणको ट्र्याक खोलिएको र उपलब्ध ग्यास बुलेटलाई पार गराएर सडकको परीक्षण गरिएको न्यौपानेले बताउनु भयो । तर सडकमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभयो । कृष्ण भीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताउनु भयो । यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । भोटेकोसी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, ‘भदौ १० गतेको भोटेकोसी बाढीले पृथ्वी राजमार्गका केही सडक खण्डमा क्षति पु¥याएको थियो भने भदौ १४ गतेको बाढीले नदी कटान बढाउँदा परेवा भीर, कृष्ण भीरलगायत स्थानमा सडक तलबाटै बगाएको थियो । कृष्ण भीरको पुरानो पहिरो सक्रिय क्षेत्र व्यवस्थापनका लागि विज्ञ तथा नेपाल जियो टेक्निकल सोसाइटीसँग परामर्श गरी सडक विभागले तत्काल यातायात सञ्चालन गर्न प्राविधिक जोखिम लिएर काम अघि बढाएको हो । सुरुमा एक लेनको ट्र्याक खोल्ने र पछि दुई लेनमा विस्तार गर्ने गरी काम गरिएको थियो । हिजो उपलब्ध ग्यासका बुलेटहरूलाई पास गराउँदै ट्र्याकको परीक्षणसमेत गरिएको छ । हाल ग्राभेल तथा सब–सर्फेस ड्रेनेजको काम बाँकी छ। सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत पानी निकासको व्यवस्था गरिनेछ । यी काम पूरा गरी असोज १ गतेदेखि कृष्ण भीरमा सबै प्रकारका सवारी साधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । माथिबाट पहिरो जाने वा अन्य प्राविधिक समस्या आएमा भने अवस्था हेरी निर्णय गरिनेछ ।

 
 पृथ्वी राजमार्गका विभिन्न स्थानमा नदी कटान तथा पहिरोको प्रभाव परेको छ । विपद्को समयमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न म यात्रुहरूलाई अनुरोध गर्दछु । अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा पनि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दछु । बाढीको अवस्था सामान्य भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

 

न्यौपानेकारअनुसार बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको छ । बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मर्मतका काम अघि बढाइने उहाँले बताउनु भयो । उहाँले विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)