सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठुलो उपलब्धि हो’–पारस खड्का


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०८३
  • 36
    SHARES

काठमाडाैँ । क्रिकेट एसोसिएसन नेपाल (क्यान) का सचिव पारस खड्काले एसी सी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि भएको बताउनुभएको छ ।

एसी सी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताउनु भयो । उहाँले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गर्नुभयो । खड्काले क्रिकेट टिम सपोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताउनु भयो । यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको एक दिवसीय (ओडिआई) संरचना र फम्र्याटमा भने थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अहिलेका लागि एसिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले सकारात्मक पक्षबारे कुरा गर्नुपर्छ । नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु हाम्रा लागि ठुलो उपलब्धि हो ।’


एसियन क्रिकेट काउन्सिल (एसी सी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताउनु भयो ।

 देश पछिल्लो केही समयदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुसी ल्याउन सकेको उल्लेख गर्दै उहाँले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताउनु भयो । एसिया कपका लागि अब क्यानले गर्ने तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मको कार्यक्रम तयार भइसकेको जानकारी दिनुभयो ।
 उहाँकाअनुसार नेपाली टोलीले अब एसियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ । एसियन गेम्समा पदक जित्ने लक्ष्य महत्त्वपूर्ण रहेको उहाँले बताउनु भयो । यसअघि एसियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको बताउनु भयो । नेपालको ओडिआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

खड्काले भन्नुभयो, ‘निरन्तर रूपमा क्रिकेट प्रतियोगिता धेरै छन् । प्रतियोगिताअनुसार तयारी गर्दै जानेछौँ र आवश्यक जानकारी सबैलाई गराउँदै जानेछौँ ।’

खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)