बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माच्चुपिच्चुमा पुगेपछि – नियात्रा


  • गीता खत्री अमेरिका 
  • सोमवार, मंसिर २२, २०७७
  • 1.2K
    SHARES

बिहानै हामीले होटल चेक आउट गरिसकेको थियौं । हाम्रा सामानहरु लबीमा बसेर मालिकहरुले हामीलाई बिर्सेर जालान की भनेर एकनासले नियाली हेरिरहेका थिए ।

करिब दुइ बजेतिर हाम्रा सामानहरुले बल्ल गाडी चढन पाए । हाम्रो गाडी राजमार्ग समात्नको लागि बिस्तारै आरालो लाग्यो । रेलको समयलाई गाइडले ध्यान दिइरहेको थियो । उसले हामीलाई केही समयको लागि स्थानीय बजार देखाउन लगे । राजमार्ग छोडेपछिको बाटो सानासाना गल्ली थिए तर एकदम सफा । बिजुलीका खब्बाहरु बाटोभरि थिए । तीनमा बिजुली लगायत टेलिफोन आदिका तारहरु जताततै झुण्डिएका थिए । बाटोमाकारभन्दा बढी टेम्पोहरु देखिन्थे तरपनि भीड भने होइन । ती टेम्पोहरु नेपालतिर देखिने टेम्पोभन्दा अलि फरक, अलि राम्रा जस्ता थिए । प्रदुषण कम भएर हो वा साँच्चै राम्रा हुन, तीनले धुँवाको मुस्लो निकालेको देखिएन । बजार ठूलो र लामो भने होइन ।

सडक सानो भएकोले दुबैतिर नाङ्ले पसलहरु थिएनन् । एउटा ठूलो खुल्ला भवनभित्र सबै बजार थियो । भवनको भित्रि भाग नीलो र सेतो रङ्गले पोतिएको छ । यसभित्र पस्नासाथ मलाई सन् १९९३र९४ तिरको मेरो ल्हासा बसाई र त्यहाँको बजारभित्र पस्दाको सम्झना आयो । बजार, भवनको बनावट, रङ्गरोगन, बजार व्यवस्था, किनबेचको तौरतरिका झण्डै नब्बे प्रतिशत उस्तैउस्तै ।

ब्यापारिहरुको पहिरन, सामान बिक्रिबितरणका तरिका, पसलको ले आउट आदि सबै उस्तै । खाली एउटा फरक के थियो भने ल्हासाको बजारमा पहिलो पटक पस्दा याकको घिउको गन्धले बान्ता आउलाजस्तो भएको थियो । यहाँं भने त्यस्तो भएन । नबिग्रीने सामानहरु बोराबोरामा मिलाएर आफ्नो पसलको अगाडि राखिएको, तरकारी फलफूलहरु अर्कोपट्टि मिलाएर राखिएको । पसल बन्द गरेपछि आ—आफ्नो सामानलाई नीलो रङ्गको प्लाष्टिकले छोपेर घर फर्कने । न ताल्चा न सांँचो । नीलो प्लाष्टिकले छोपेको पसल, त्यो दिनको निमित्त बन्द भएको मानिने । पेरुभियन गाउँ अझै एकआपसी विश्वसमा टिकिरहेका मैले पाएँ ।

यही घुमाईको अवसरमा हामीले केही सामानहरु खरिद गर्न पनि भ्याइहाल्यौं । यहाँबाट हामी अब ओलानताइताम्बो (Ollantaytambo)/]रेल स्टेशनतिर लाग्यौं । किनमेलले गर्दा रेलको समय अलिअलि ढिला भइसकेको रहेछ तर हाम्रो गाइड ओस्कारले नअत्याइकन स्टेशन पु¥याइ दियो । ओस्कार निकै पाको गाइड लाग्यो मलाई । एउटा सानो डाँडाको घुम्टिपार गर्नासाथ रेल स्टेशन आइपुग्यो ।

माच्चुपिच्चु जाने रेलमा दश पाउण्डभन्दा बढी सामान लैजान नमिल्ने भन्ने जानकारी हामीलाई पहिले नै भइसकेको थियो । त्यसैले सबैले एउटाएउटा ह्याण्ड क्यारी र काँधमा झुण्डाउने झोलाहरु मात्र लिएर हामी तयार भएका थियौं । बाँकी सबै सामानहरु मोटरमै राखेर चालकले कुस्को फिर्ता लगिसकेको थियो । सबै यात्रीहरु रेलतिर दौडादौड गर्दै थिए । हामीपनि लामालामा फट्का मार्दै रेल नछुटाउने मुडमा आ—आप्mना सामान घिच्याउँदै अगाडि बढ्यौं । गाइड हामीभन्दा अगाडिनै दौडेर हामी सबैको टिकट कन्डक्टरलाई बुझाएर हाम्रो प्रतिक्षामा थिए । एकदुइ शट फोटो खिच्ने समयपनि हामीले पाएनौ यहाँ । वरपरका नौला दृष्यहरु माथि हाम्रा चन्चल आँखाहरु गड्नै नपाई हामी पेरु रेलभित्र उक्लिन बाध्य भयौं ।

हामी सबैभन्दा पछाडि रेल चढने यात्री रहेछौं । हामी आ—आफ्नो सिटमा बस्न नपाउदै रेल अगाडि बढी हाल्यो । ओलानताइताम्बो देखि माच्चुपिच्चुसम्मको रेलको समय करिब दुई घण्टा जतिको रहेछ । योे रेलको बाटोले उरुम्बाम्बा नदीको किनारलाई एकछिन पनि नछोडी माच्चुपिच्चुको फेदीसम्मै पुग्छ । पहाडी भागमा चल्ने रेल भएर होला छोटाछोटा डिब्बाहरु थिए । छोटो तर छरितो । यीरेलहरु जिल्लाबासी र सामान ओसारपसार गर्ने रेल नभई खास गरेर पर्यटकहरु ओसारपसार गर्ने रेल भएकोले होला निकै सफा र व्यवस्थित थियो ।

दुईदुई जनाको सीट, बीचमा सानो टेबुल राखिएको थियो । त्यो टेबुल घटाउन बढाउन मिल्ने खालको । माथि छतको दाँयावाँया सिसा राखिएको रहेछ जसले गर्दा यात्रीहरुलाई दायाँवायाँ र आफ्नो टाउको माथिको अचम्मका पहाड, कहिले नदेखिएका रुखपात, विरुवाहरुको अवलोकन गर्न र तिनीहरुको स्मृतिलाई आफ्नो क्यामेरामा कैद गर्न सजिलो बनाएको । रेल हिँडेको केहीवेर पछि हवाइजहाजका परिचारिका जस्तै जवानीले ढकमक्क फूलेका युवायुवतिहरु कालो पहिरनमा हवाइजहाजकै जस्तै गरेर खानेकुराको ट्रली धकेल्दै यात्रीको अगाडि उभिएर पानी, चिया, कफी, जुस, वाइन के पिउने र खानेकुरामा सानासाना पिज्जा र इङ्गंलिस मफिन के मन पर्छ सोध्दै दिन थाले । यसको लगतै पेरुभियन संस्कृति देखाउने खालको छोटो सांस्कृतिक कार्यक्रम, चटक तथा अन्तमा उनिहरुको आप्mनै उत्पादन लामा र अलपाकाबाट बनेको विशिष्ट स्वीटर,शल, स्कार्फ आदिको फेशन शो देखाए । यात्रीहरुको लागि यो पनि निकै रमाइलो हुने रहेछ । दुइ घण्टाको रेलको बसाई त दश मिनेटमै सकिए जस्तो लाग्यो । बीचबीचमा हाम्रा आँखा अगाडि आइपुग्ने अद्भुत र अनौठा दृष्यहरुलाई पनि आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास थियो । एक घण्टाजतिको रेलको दौडाई सुख्खा, ढुँगैढुँगाको मरुभूमी जस्तोबाट बिस्तारै हरियो, हराभरा घना जङ्गलतिर पुगीयो । प्रकृति पनि कति बिचित्रकी छिन् । बीस–बाइस माइलको फरकमै कत्रो अन्तर । बुझेर बुझी नसक्नु, जानेर जानी नसक्नु ।

पेरुभियन सरकारले पर्यटन विकासका लागि निकै समय र रकम खर्च गरिरहेको देखियो । देशको अर्थतन्त्र पर्यटन व्यवसायमा आधारित छ भने उनिहरुले पर्यटकहरुको सुखसुविधामा ध्यान दिनु कुनै नौला कुरा भएन । नेपालले पनि पर्यटन विकासको लागि कुरा उठाएको त धेरै दशक वितिसक्यो । पर्यटन बर्ष मनाउदै, सडकमा नाचगान गर्दै, उच्च पदस्थ अधिकारीहरु ठाउँठाउँमा भाषण दिदै हिँडेको निकै समय भइसक्यो । ठोस उपलव्धी भए नभएको अभिलेख त पर्यटकहरुको संख्या, यस क्षेत्रमा उपलव्ध रोजगारीको संख्या, होटल व्यवसायको उन्नति, पर्यटकहरुले हेर्न रुचाउने ठाउँहरुको सरसफाइ, जिर्णोद्वार, बसोबासको सरल व्यवस्था, शुद्ध पानी तथा खानापानको व्यबस्थाबाट देखिने कुरा हो । यिनै कुराहरुको राम्रो व्यवस्थाले नै नेपाल र नेपालीको नाम विश्व रङ्गमन्चमा माथिल्लो श्रेणीमा पु¥याउन सक्छ भन्ने मेरो सोचाइ हो ।

गोधुलीतिर हामीलाई पेरु रेलले उरुबाम्बा उपत्यकामा पु¥याइ दियो । त्यहाँ पुग्नुभन्दा केही अगाडिदेखि नै पानी पर्न सुरु भइ सकेको थियो । यो क्षेत्रमा कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ र कतिबेला हुरीबतास चल्छ निश्चित नहुने कुरा हामीले थाहा पाइसकेकोले छाता र रेनकोटको बन्दोबस्त गरेरै आएका थियौं । रेलबाट उत्रेदेखि छाता आवश्यक भइ हाल्यो । हामीले बास बस्ने होटल रेल स्टेशनबाट हिँडेर पाँच मिनेटजति टाढा थियो । होटेलसम्म पुग्ने बाटो अस्थायी बजारले टन्न थियो । दायाँबायाँ पसल, बीचबाट यात्री हिड्ने । छाता र रेनकोटले छोपिएर हामी होटल पछ्याउदै हिँडिरह्यौ । बजारको अन्तिम लाईनमा हामीले बास बस्ने होटल सुमाकरहेछ । होटल विशाल थिएन तर भीडभाड र चहल पहल भने निक्कै थियो ।माच्चुपिच्चुको टुप्पोसम्म यात्री लिएर जाने र फर्कने यसैको अगाडिबाट रहेछ । भोलि माच्चुपिच्चुको उकालो समात्नु छ, पानी नपरोस भन्ने कामना गर्दै प्रतिक्षाको रात सुमाकमा बितायौं ।

अग्लाअग्ला डाँडाको बीचमा उरुबाम्बा नदी, नदीको किनारतिरको केही भूभाग समथर केही भीरालो यो उरुबाम्बा उपत्यका हो । तलतिर उरुबाम्बा नदी कन्चन पानी लिएर छङ्छङ् बगीरहेकी छे । नदी सडकबाट करीब बीसपच्चीस फिटजति तल मात्रै हो । नदी भएतर्फ एउटा अग्लो पहाड छ जस्को टुप्पो हेर्नको लागि पूर्बेली ढाका टोपी लगायो भने त्यो टोपी पछाडि नखसेसम्म टुप्पो देखिदैन । हामी बसेपट्टि अलि होचा र अलिकति पछि हटे जस्तो पहाड छन् । पछि हटेको भन्नु भन्दापनि आमाले आफ्नो प्यारो छोराछोरीलाई काखमा राख्नको निम्ति काख फैलाएको जस्तो । आमाको काखमा जति बस्तीअटन सक्छ त्यतीनै हो उरुबाम्बा उपत्यका । यहांँको बस्ती भन्नु नै बन्दव्यापार हो । त्यसैले ती घरबस्ती, होटल, लज, रेष्टुरेण्ट र पसलहरु नै यहाँको बस्ती र बासिन्दा हुन । यी बाहेक यहाँकै स्थायी बस्तु र स्थायी बासिन्दा कोही भए जस्तो मलाई लागेन । पर्यटन व्यवसायका लागि मात्र सिर्जना गरिएको बस्ती हो । यहांँ भेटिने मान्छेहरु की त पर्यटक हुन, की त व्यापारी हुन, की त कामदार ।

भगवनले सबै मान्छेलाई भन्छन् रे –“हे मानव हो तिमीहरु आँट गर, म तिमीहरुकोसाथमा हुनेछु । म तिमीहरुको चाहना पुरा गरिदिनेछु ।” बिहानको नित्य कर्म सकेर साढे छ बजेतिर हामी बिहानको खाना खान होटलको डाइनिङ हलमा सामेल भइसकेका थियौं । यतिबेला भोक थिएन । खान मन नभएपनि त्यो डाँडाको टुप्पामा के राम्रो खाना मिल्ला, कुन बेला खानाको समय मिल्ने हो, निश्चित नभएकोले रुचेको खाने निधो ग¥यौँ । सातबजेतिर ओस्कारको प्रतिक्षा गर्दै होटेल बाहिर निस्कियौं । यतिबेला पानी पर्ने कतै गुन्जाइस थिएन । नीलो आकाशमा बादलका टुक्राटाक्रीपनि थिएनन् । कलिलो घामतिनै वरिपरिका पहाडको टुप्पालाई म्वाइ खाँदैखाँदै तलतल आइरहेको थियो । हामी वरपर देखिने खोलानाला, ढुंँगाबगर, रुखपात गल्छी आदि राम्रो लागेका जति चीजबीज, बस्तु सबैको तस्वीर लिदै थियौँ, ओस्कार आइपुग्यो ।

होटेल चेक आउट गरेर हाम्रा सामानहरु ट्रेन स्टेशनमा पु¥याइदिनको लागि होटलका मान्छेलाई जिम्मा दिइसकेका थियौं । उनिहरुलाई हामीले चढने टे«नको नम्बर र समय पनि दिएका थियौं । त्यसैले अव हामी एउटा हाते झोलामै ओस्कारकासाथ बस स्टपतिर लाग्यौँ । बस स्टप धेरै पर थिएन । बिहान छ बजेदेखि नै बसहरु माच्चुपिच्चुतिर दौडन थालिसकेका थिए । बसमा चढ्ने यात्रीहरुको लाइन भने निकै लामो थियो । पहाडी बाटोमा चल्न पर्ने बस भएर होला धेरै ठूला थिएनन् । बसमा तीसपैतीस जना यात्रीहरु मात्रबस्न मिल्ने । बस पालैपालो गरेर आइरहेका थिए, यात्रीहरुपनि पालैपालो चढी रहेकै थिए । करीब एक घण्टाजतिमा हाम्रो पालो आयो ।यी बसहरु एउटै रङ्ग र एउटै साइजका थिए । शायद एउटै कम्पनीले ठेक्का पाएको होला । बस हरियो रङ्गको, सफा सीट, सीटमा पनि नम्बर लगाइएको थियो । तर जो जता बसेपनि हुने । लामो दूरी नभएकोले जुन सीटमा बस्दा पनि खासै फरक नपर्ने । बस आरामदायी थिए ।

बसको ताँती एक पछि अर्को गर्दै जङ्गलको बीचमा बनेको बाटो माथि विभिन्न सानाठूला डाँडाहरुको खोँच, भन्ज्याङ्हरु पार गर्दै उकालो लागि रहेको थियो । जतिजति बस माथि पुग्थ्यो, त्यसमा पनि डाँडाको पूर्वी पाखामा पुग्दा कमलो घामले छोएका परपरसम्म देखिने सुन्दर हरिया पहाडहरु, नीलो आकाश अनि गहिरो फेदी र ठाउँठाउँमा देखिने नागबेली सडकको चित्र मान्छेले जीवनमा बिरलै देख्न सकिने अवस्था हो । ती दृष्यहरु जीवन रहेसम्म मुटुभित्र बसीरहने छाप पनि हो । कुनैकुनै भन्ज्याङ्बाट माच्चुपिच्चुको दृष्य पनि झल्याकझुलुक देखिन्थ्यो । ती दृष्यहरुलाई आँखा नझिम्क्याई हेर्दै, कहिले अत्तालिदै कहिले चिच्चयाउदै र तीनलाई मनभित्र सजाउदै हामी माच्चुपिच्चुको ढोकामा पुग्यौं । यो यात्रा करिब आधा घण्टाजतिको थियो ।

बसबाट उत्रियौँ । पहाडै त हो, फराकिलो ठाँउ त थिएन । बस घुमाउनसम्म पुग्ने ठाँउ थियो । यहाँबाट भित्र पसेपछि बाथरुमको व्यवस्था रहेनछ । त्यसैले सबैले आ—आप्mनो बन्दोबस्त यतै गरेर भित्र जानु उपयुक्त ठान्यौं । बाथरुम गइरहने पर्ने यात्रीलाई भने अलि अप्ठेरो नै पर्ने रहेछ । हामी पनि बाथरुम जानेतिर लाग्यौं । बाथरुममा बेग्लै प्रवेश शुल्क पो रहेछ । एक जनाको एक सोल । एक अमेरिकी डलर बराबर तीन पेरुभियन सोल सटही दर रहेछ । यस हिसाबमा माच्चुपिच्चुमा बाथरुम त महगै प¥यो । नेपाली रुपैयामा त तीस–पैतिस नै भयो । पहाडको टुप्पोसम्मपु¥याएको सेवाको लागि त्यती त चल्ला नी ।

माच्चुपिच्चु पेरुको कुस्को राज्यस्थित आन्डीज पर्वत श्रृङखलामाथि पन्ध्रौ शताब्दीमा इन्का जातिले बनाएको बलियो ढुँगैढुँगाको किल्ला हो । यस्को उच्चाइ समुद्र सतहबाट ७,९७२ फीट माथि छ । मानव बस्तीको लागि विभिन्न कुराहरुको आवश्यकता हुन्छ । माच्चुपिच्चुसंग शायद ती सबै कुराहरुको अभाव थियो होला । तीनै कुराहरुलाई महसूस गरेर समयको प्रभाहसंगै इन्काहरुले बिस्तारै यसलाई छोडि दिए । यो ठाउँको मुख्य विशेषता भनेको यहाँ बनेका बिशालकाय ढुँगे घरहरु र ढुँगेलो बारी नै हो । घर बनाउन प्रयोग गरिएका ढुँगाहरु यति विशाल छन् की तीनका तौलको अन्दाजसम्म पनि गर्न सकिन्न । दशबीस जना जवान मान्छेले त हल्लाउन पनि सक्दैनन् होला । ती ढुँगाहरुको कटाइ यति राम्रो र चारकुना मिलेको छ की आजभोलिको मेशिनले काटेर मिलाएको भन्दा पनि राम्रो देखिन्छ । ती ढुँगाहरुको जोडाइ सीमेन्ट, बालुवा, माटो, ढुँगाआदि कुनैपनि बस्तुको प्रयोग बिना नै गरिएको छ । कुनै घर एक तल्लाका छन् भने कुनै घर दुईतीन तल्लासम्मका पनि छन् । सबै भन्दामाथि केही समथर (अन्दाजी दशबीस बीघाजति) जग्गा छ होला । यो समथर जग्गाको तीनैतिर भिरालो पहाड छ । त्यो भिरालो पहाडलाई पनि ढुँगैढुँगाकै पर्खाल लगाएर तल्लातल्ला बनाएर खेतीको निमित्त जग्गा बनाइएको छ । तीनचार फीटदेखि दशबाह« फीटसम्मको चौडाइका सानासाना सुर्काहरु बनाइएका छन् । तीनै सुर्काहरुमा त्यसबखत त्यहाँ बसोबास गर्ने इन्काहरुले आफूलाई आवश्यक पर्ने अन्नबाली लगाउथे अरे । अहिले पनि ती सुर्काहरुमा हरियो दुबो उम्रिएर बारी हरियै देखिएका छन् ।

माथि टुप्पाबाट हेर्दा यस्तो देखिन्थ्यो उरुबाम्बा खोलादेखि माथिसम्म ढुँगैढुँगाको भ¥याङ लगाइएको छ । जीउज्यानको खतरा हुने भएकोले अहिले यात्रीहरुलाई कुनै पनि सुर्कातिर जाने वा ओर्लने अनुमति छैन । हरेक सुर्कातिर ओर्लन सक्ने ठाउँमा सुरक्षा कर्मीहरु तैनाथ गरिएका छन् । लामाहरुआ–आफ्ना पाठाहरुसहित त्यही हरियो दुबैमा चर्दै थिए । उनिहरुका चिटिक्क परेका पाठाहरु, जसलाई अलपाका पनि भनिन्छ, दुबोतिर नहेरी आफ्नी आमाको मीठो दूध चुसीरहेका थिए । अन्दाजी दुईतिन हजार यात्रीहरु रङ्गीचङ्गी पहिरनमा हरियो डाँडाभरी छरिएका थिए ।एक टुक्रा बादल पनि नदेखिएको नीलो आकाशलाई हातैले छुन सकिन्छ की जस्तो । फुत्त उफ्रेर एउटाबाट अर्को डाँडामा पुग्न सकिन्छ की जस्तो लाग्ने । मानौ माच्चुपिच्चु आफै एउटा सप्तरङ्गी पहाड हो ।

मलाई त लाग्यो स्वर्गको एउटा टुक्रा धर्तीमा हामीलाई स्वर्गीय आभास दिन देवीदेउताहरुले पठाइ दिएका हुन । बिहान बस चढने बेलाको विशाल लाइन र भीड देख्दा त हामीले माथि गएर फोटा खिच्ने ठाउँ पनि पाउँदैनौ की जस्तो लागेको थियो । मान्छे जतिसुकै धेरै भएपनि प्रकृतिका अगाडि सबै न्युन ।भीड डाँडाभरी छरिदाँ पातलै देखिने । यस तीर्थस्थलीमा एकैछिन बसेर सोच्दा यस्तो लाग्थ्यो की आधुनिक स्वर्ग यही हो। सिद्धार्थ गौतमले जस्तै घरपरिवार छोडन सक्ने भए, पेट पुजा गर्न नपर्ने भए, केटाकेटीको भविष्यको आशामा डुब्न नपर्ने भए र जिन्दगीका अनगिन्ती आशा र रहरहरु मनबाट निकाल्न सक्ने भए यही माच्चुपिच्चुको शिखरमा आएर ध्यानमा बसी दिन्थेँ । यत्रो दुःख कष्ट झेलेर इन्काहरुले यो किल्लाको निर्माण किन गरेका होलान । यस्को रहस्य बाहिर आउन अझै सकेको छैन । यहाँ दिनमा पच्चिस सय भन्दा बढी

पर्यटकहरुले पाइला टेक्छन अरे । हामी तीनै पच्चिससय भित्र प¥यौं । चार घण्टा बितेको हामीलाई पत्तै भएन । हामीलाई त्यही दिन कुस्कोसम्म फर्कनु थियो । तलमाथि दायाँबायाँ उक्लदाओर्लदा हामी थाकी पनि सकेका थियौं । जीवनमा कहिले नदेखेको अति सुन्दर र मनमोहक सपनामयी ठाउँप्रतिको हाम्रो आर्कषण र उत्ताउलोपनाले मात्रै हामीलाई शक्ति दिइरहेको थियो । भोकपनि लागि सकेको थियो । त्यसैले हामी माच्चुपिच्चुबाट बिदा लिने मुडमा अघि बढ्न थाल्यौं । माच्चुपिच्चुको सेरोफेरो घुमेर प्रवेशव्दारमा आइपुग्दा नपुग्दा मेरो मन माइतिबाट बिदा हुन लागेकी बेहुलीको जस्तो हुन पुगेछ । यहाँबाट मलाई टाढिनु नै थियो । बसोबासको लागि आएको त हैन । तैपनि कमलो मन पग्लियो । ढोका बाहिर अध्यागमन कार्यालय जस्तै एउटा टेबुल राखेर अध्यागमनको छाप जस्तै “माच्चुपिच्चुको भ्रमण गरेर प्रस्थान” पुरातात्विक पार्क, माच्चुपिच्चुको छाप पासपोर्टमा लगाइ दिने चलन रहेछ । यो पनि आफूले भ्रमण गरेको तिथि, मिति र समय सम्झनामा राख्न सजिलो बनाइ दिएको राम्रै लाग्यो । बसमा बिहानको जस्तो भीड थिएन । खिन्न मन लिएर हामी सबैजना बसमा बस्यौं ।
८८८

 

-गीता खत्री अमेरिका

Email:- [email protected]

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }