आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा पनि आजबाट कोभिड -१९ विरुघ्दको खोप अभियान शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २३, २०७७
  • 304
    SHARES

लन्डन।  बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ ।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताउनु भएको छ ।

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।

बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ ।

पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)