अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले सत्ता सम्हालेको सय दिनमा १० करोड जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने योजना सार्वजनिक गर्नुभएको छ । बाइडन आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्दै हुनुहुन्छ ।
गत नोभेम्बरमा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडनले हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
विश्वमै संयुक्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित छ । पछिल्लो समय संक्रमणको दर अहिलेसम्मकै उच्च देखिरहेका बेला बाइडनले आफ्नो खोप योजना सार्वजनिक गर्नुभएको हो ।
बाइडनले आफूले सत्ता सम्हालेको पहिलो महिना नै कोरोनाको प्रकोप अन्त्य नहुने तर कोभिड १९ को अध्ययय भने परिवर्तन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस अघि नै बाइडनले अमेरिकीहरुलाई सय दिनका लागि मास्क लगाउन आग्रह गरिसक्नु भएको छ । मंगलबार मात्रै अमेरिकाले कोरोना विरुद्धको खोप फाइजर बायोएनटेकलाई अमेरिकामा प्रयोग गर्नका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
अमेरिकामा हालसम्म १ करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ९३ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।।
