काठमाडौं,३ पुस। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्ष लाग्न सक्ने जनाएको छ ।
डब्लुएचओले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताउँदै छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । खोप ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु रहेको बताइएको छ ।
त्यसैगरी यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताउनु भएको हो
। कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरे पनि अधिकांश देशले अझै पनि यसको प्रकृया नै सुरु गर्न नसकेको बताउनु भयो । त्यसैले सन् २०२१ को मध्य वा अन्त्यतिर मात्रै एसिया प्रशान्त क्षेत्रमा कोरोना खोप आउने डब्लुएचओको ठहर छ ।
