
२८ पुस, जनकपुर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन पछि प्रतिनिधि सभा प्राप्तिका लागी पुनःस्थापना वा निर्वाचन बाहेक अन्य विकल्प नभएको बताउनुभएको छ।
जनकपुरधाममा मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएको निधिले प्रतिनिधिसभा प्राप्तीका लागि पुनःस्थापना वा निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पार्नुभएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको पनि उहाँले बताउनुभयो। काँग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको उहाँले दावी गर्नुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणााली सहितको व्यवस्था रहेको मुलुकमा संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेकाले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने उहाँले बताउनुभएको छ।
उहाँले भन्नुभयो, “देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ,सर्वोच्च अदालतद्वारा संसद पुनःस्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको स्थापना बाहेक अन्य कुनै विकल्प छैन । यी दुवै विकल्प संवैधानिक हुन् ।”