७ माघ, काठमाडौं । मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टरमाथि गरिएको दुर्व्यबाहरप्रति घोर भत्सर्ना गर्दै, सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले विरोध जनाएको छ ।
संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर जेजु नाथ पोखरेल र महासचिव नविन्द्रराज विष्टले वुधबार एक विज्ञप्ती जारी गर्दै डाक्टर सबिन भण्डारीप्रति गरिएको दुव्र्यवहार र हातपातप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तीमा नेपाल चिकित्सक संघले अस्वाभाविक गतिविधिमा संलग्न अपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई ‘जेल विदवाउट बेल’को प्रावधानलाई कानुनमै व्यवस्था गरी कार्यान्वयन गर्न पटक-पटक गर्दै आएको माग ज्यादै सान्दर्भिक देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
कोभिड-१९को अत्यन्तै जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी देशभर स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिएका चिकित्सकहरुमाथि नै बारम्बार अमानवीय घटना गराउनुले कानुनी राज्यको प्रत्याभूतिमा समेत प्रश्न चिह्न खडा गरेको विज्ञप्तीमा उल्लेख छ ।
डाक्टर भण्डारी माथि हातपात गर्ने ३६ वर्षीय कृष्ण प्रसाद गौतमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यसरि बारम्बार चिकित्सकमाथि आक्रमण हुनुले अस्पतालमा सुरक्षित वातवरण नभएको पुष्टि गर्ने नेसनल रेजिडेन्स डाक्टर एशोसियसनका महासचिव डाक्टर सुमन दाहालले बताउनुभयो।
दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग चिकित्सकहरुले राखेका छन् ।
