१८ माघ, काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप ल्याउने दर्ता अनुमतिका लागि आवेदन दिएका दुई विदेशी कम्पनीको कागजात नपुगेका कारण दर्ता प्रक्रिया रोकिएको छ ।
भारतको भारत बायेटेक र चीनको सिनोर्फामले औषधि व्यवस्था विभागमा यही जनवरी १७ तारिखमा आवेदन दिएका थिए । उनीहरुको दर्ता अनुमतिका लागि आवश्यक कन्फर्मेसन डकुमेन्ट नपुगेकाले प्रक्रिया अघि बढ्न नसकेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो।
विभागले जनवरी १३ मा सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।
सिनोर्फाम कम्पनीले उत्पादन गरेको खोपको गत डिसेम्बर अन्तिममा तेस्रो चरणको परीक्षण गरिएको थियो । जसमा यसको ‘इफिकेसी’ ७० प्रतिशत देखिएको थियो । सिनोफार्मलाई अमेरिकी औषधि प्रशासन एफडीएले हालसम्म प्रयोग अनुमति दिएको छैन । त्यस्तै, भारत बायोटेकले उत्पादन गरेको खोप भने तेस्रो चरणको परीक्षणपछि भारतमा आपत्कालीन प्रयोग भइरहेको छ ।
