मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जोन्सन एन्ड जोन्सनद्वारा विकास गरिएको ४० लाख डोज खोप विभिन्न राज्यमा वितरण गर्ने अमेरिकाको तयारी


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 798
    SHARES

वासिङ्टन , १८ फागुन। अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।

अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउनु भएको छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ ।

राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।

बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनले जोन्सनका खोपहरु मङ्गलबार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने जानकारी दिए ।

अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ ।

क्लिनिकल ट्रायल (नमुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो ।

जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)