काठमाडौँ – नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एक मात्र विकल्प भएको बताउनुभएको छ ।
उहाँले काँग्रेसलाई विभाजित नभई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पार्नुभएको हो । सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै यसले नेपाली काँग्रेससँगै नेपालको राजनीतिको आगामी दिशासमेत तय गर्ने बताउनु भयो । संस्थापन पक्षले संस्थापन इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोइरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताउनु भयो । उहाँले आफूहरूले पटक–पटक एकताबद्ध भएर अघि बढ्न र वार्तामा बस्न आग्रह गरेको दाबी गर्नुभयो ।
पूर्व सभापति शेरबहादुर देउवासहित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पनि वार्ताका लागि आग्रह गरिएको उहाँको भनाइ छ । कोइरालाले काँग्रेसको भविष्य सुरक्षित गर्नु आफूहरूको जिम्मेवारी भएको भन्दै पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । देउवासँग भेटका लागि समय माग्दा नदिइएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले देउवा व्यस्त भएको हुनसक्ने बताउनु भयो । तर भेट्नै नचाहेको भन्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
उहाँले १५ औँ महाधिवेशनलाई पार्टीको आन्तरिक विषयमा मात्र सीमित नभई नेपालको राजनीतिक भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । काँग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनमा सहभागी गराउन आफूहरू वार्तामार्फत समाधान खोज्न तयार रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
उहाँले भन्नुभयो, ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । वार्ता बाहेक हाम्रो कुनै समाधान छैन । उहाँहरूसँग वार्ता गरेर मूल बाटोमा उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ । हामीले त कति चोटि भन्यौँ, एकताबद्ध भएर जाऔँ, वार्ता गर्न आउनुस् भनेर। उहाँहरूले सुन्नुभएन भने हामीले के गर्ने ? सायद उहाँ व्यस्त हुनुहुन्थ्यो होला । त्यो म भन्न सक्दिनँ । सायद व्यस्तताकै कारणले होला । नत्र भेट्नै नहुने भन्ने त कुनै कुरा आउँदैन ।’
उहाँले १५ औँ महाधिवेशनलाई पार्टीको आन्तरिक विषयमा मात्र सीमित नभई नेपालको राजनीतिक भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । काँग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनमा सहभागी गराउन आफूहरू वार्तामार्फत समाधान खोज्न तयार रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया
सम्बन्धित समाचार
