बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मार्च ८ र महिला अधिकारको सन्दर्भ


  • अनिशा निरौला
  • सोमवार, फाल्गुन २४, २०७७
  • 824
    SHARES

२४ फागुन, काठमाडौं ।आज मार्च ८ अर्थात ‘अन्तर्राष्ट्रिय महिला दिवस’ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९०९ देखि अन्तर्राष्ट्रिय स्तरमा मनाउन थालिएको महिला दिवस नेपालमा सन् १९५८ अर्थात वि.सं.२०१६ सालदेखि मनाउँदै आइएको छ । यसरी महिला दिवस मनाउनुको अर्थ हरेक नारीको हक, अधिकार र लैङ्गिक समानताको सुनिश्चितता गर्नु हो । अष्ट्रेलिया लगायत न्युजिल्याण्ड, फिल्याण्ड, बेलायत जस्ता मुलुकहरुले पुरुषसरह नारीले पनि मतदान गर्न पाउनुपर्ने अधिकारसँगै अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणालाई अघि सारेको हुन् । महिलालाई समान हक र अधिकारसँगै समान सहभागिता, लैङ्गिक हिंसा र असमानता हटाउने उद्देश्यकासाथ विश्वभर महिला दिवस मनाइन्छ ।

मार्च ८ मा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै ‘अन्तराष्ट्रिय महिला दिवस’ मनाउने गरिन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरुको साथ यस दिवसलाई मनाइदैछ । तर महिलाहरुकै उत्थान र समनाताका लागि नारि दिवस मनाइरहँदा हाम्रै चेलीबेटी, दिदीबहिनीहरुको अवस्था कस्तो छ ? यस दिवसमा महिलाहरुको सहभागिता कत्तिको रहेको छ भनेर अध्ययन गर्नु जरुरी छ । राजधानी काठमाडौंको पाँचतारे होटलहरु र माइतीघर मण्डलामा नारा जुलुससहित महिला दिवस मनाइरहदा हाम्रो सुदुरका गाउँ बस्तीहरुमा अझै पनि आमा दिदीबहिनीहरु बोक्सिको आरोपमा ज्यादती भोगिरहेका छन् । कलिला बालिकाहरु बलात्कारको सिकार हुनुपरीरहेको छ । शहर बजारकै भनिएका महिला दिदी बहिनीहरुले पनि श्रम शोषण, अन्याय, अत्याचार र विभेद भोगिरहनु परेको छ । के मार्च ८ को दिन उनीहरुको अधिकारको सुनिश्चित गर्न सकिन्छ ? के मार्च ८ ले अन्याय, अत्याचार, शोषण र दमनमा परेका सबैको निम्ति न्यायको बिगुल फुक्न सक्छ ? यि प्रश्नहरु छन् । हामिले यि प्रश्नहरुको उत्तर खोज्नुपर्छ । यसको अर्थ केवल मार्च ८ को विरोध गरिएको होईन । महिला अधिकारको निम्ति सधैँभरी मार्च ८ को दिन महत्व दिए जसैगरी महत्व दिनु जरुरी छ भन्न खोजिएको हो ।

राज्यको हरेक निकायमा महिलाहरुलाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । तर महिला आरक्षणको कुरा कागजमा मात्रै सिमित छ । ३३ प्रतिशत महिला सहभागिता कुनै निकायमा पनि पुगेको छैन । देशको आर्थिक, सामाजिक, राजनीतिक कुनै क्षेत्रमा पनि महिलाहरुको समान सहभागिता हुन सकेको छैन । जबकि देशको व्यवस्था बदल्नको निम्ति, देशलाई आजको स्थितिसम्म ल्याइपु¥याउनको निम्ति आम रुपमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको छ । तर खोई महिलाहरुको समान सहमागिता ? यस निम्ति राज्यले आफ्नो प्रतिबद्धता पुरा गर्नुपर्छ । महिला दिदीबहिनीहरु पनि आफ्नो अधिकार प्राप्तिको निम्ति जागरुक बन्नुपर्छ ।

नेपालमा महिला हिंसाको अवस्था हेर्न केहि प्रतिनिधिमुलक घटनाहरु लाई हेर्नैपर्ने हुन्छ । गत २०७५ साल श्रावण ११ गते कंचनपुर भीमदत्त नगरपालिका १८ की ११ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर हत्यारा आजसम्म पत्ता लागेको छैन । हत्यारालाई कारबाहीको माग गर्दै देशभर आन्दोलन मच्चियो, परिवारका सदस्यहरु आँशुको आहालमा डुबेर न्यायको भिख अझै मागिरहेका छन् तर न त दोपी पत्ता लागेको छ न त सरकारले कुनै प्रगति नै पेश गर्न सकेको छ । यस घटनालाई हेरेर भन्न सकिन्छ कि राज्यले अपराधी पत्ता लगाउन समेत सक्दैन । अपराधीलाई कानुनी दायरामा ल्याउनसमेत सक्दैन । र त हाम्रो देशको चेलीहरु असुरक्षित हुनुपरेको छ ।

त्यस्तै झन्डै डेढ बर्षअघि बिद्यालय जादैँ गरेकी विरगंजकी मुस्कान खातुनमाथी एसिड आक्रमण भयो । आक्रमणका आरोपित पक्राउ परेपनि धरौटी रकम बुझाएर छुटेको मुस्कान आफैले एक टेलिभिजन कार्यक्रममार्फत बताएकि थिइन् । अपराधिहरु यसरी नै सत्ता र शक्तिको भरमा उन्मुक्ति पाइरहन्छन् । अनि कसरी हाम्रा कलिला बालबालिकाले सुरक्षित महसुस हुन सक्छन् ? कसरी पीडितहरुले न्यायको अनुभुति गर्न सक्छन् ? तराइतिर हेर्ने हो भने दाइजो नल्याएको भन्दै महिला दिदीबहिनीहरु हिंसामा परिरहेका छन् । यस सन्दर्भमा अलि पुरानो उदाहरण, सन् २०१६ मा वीरगंजमा रामकली देवी (नाम परिवर्तन)लाई पर्याप्त दाइजो नल्याएकै कारणले परिवारले उनलाई शारीरिक र मानसिक यातनासँगै ६ महिनाको गर्भ जवर्जस्ती औषधीको सेवन गर्न लगाएर तुहाइदिए । उक्त हिंसाको विरुद्ध उजुरी दिन जाँदा परिवारले थप यातना दिएको घटना बाहिरिएको थियो ।

त्यस्तै २०७४ साल फागुन २४ गते महिला दिवसकै दिन कैलालीमा राधा चौधरीमाथी बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको घटना पनि बाहिरिएको थियो । यि माथिका प्रतिनिधिमुलक घटनाले हाम्रो नेपाली समाजमा महिलाहरुको स्थिति लाई देखाउँछ । के यो अवस्थाको अन्त्य गर्न केवल मार्च ८ को दिनमा मात्रै महिला समानता, महिला सशक्तिकरण र महिलाको समान सहभागिताको कुरा गरेर पुग्ला ? पक्कै पनि पुग्दैन । त्यसैले हामिले हरेक दिन, हरेक पल महिला अधिकारको निम्ति आवाज उठाउनुपर्छ ।

त्यसो त महिला हक अधिकारको सुनिश्चितताको निम्ति पुरुषलाई पनि साथसाथै लिएर अगाडी बढ्नुपर्छ । समाज बदल्नुपर्छ । समाजको चेतनास्तरलाई माथि उकास्नुपर्छ । खाली राज्यलाई मात्रै दोष दिएर पनि हुँदैन । नागरिक हुनुको हिसाबले हामिले. कत्तिको आफ्नो जिम्मेवारीहरु, उत्तरदायित्वहरु पुरा गरेका छौँ । हामि कत्तिको आत्म अनुशसनमा बसेका छौँ त्यो पनि महत्वपूर्ण कुरा हो । त्यसैले हामिले आजैको दिन प्रतिबद्धता गरौँ, म महिला हिंसा गर्दिन । यदि हिंसा भएको छ भने सहदिन पनि । अनि हक अधिकारको सुनिश्चितताको निम्ति, अन्याय, अत्याचार, शोषण,दमनको विरुद्धमा आवाज उठाउनको लािग मार्च ८ पनि कुरिरहन्न । हरेक पल, हरेक क्षण लागिपरिरहन्छु । जन विश्वभर र नेपालमा पनि महिला अधिकार सुनिश्चित हुन्छ तब मात्र मार्च ८ मनाउनुको सार्थकता हुन्छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }