शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटकीय स्थललाई ब्राण्डिङ गर्दै पर्यटन बोर्ड


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 755
    SHARES

काठमाडौं, २८ फागुन। 

नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्न शुरु गरेको छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यहरुलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ ।

गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिनुभयो । ‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ,त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं । विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ ।’ उहाँले भन्नुभयो । लुम्बिनीको सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको यसले अन्य गन्तव्यलाई पनि सोही अनुरुप विकास गर्न नयाँ सोच अगाडि आउने उहाँले बताउनु भयो ।

यसरी गरिदैछ ब्राण्डिङ

जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरता सहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण,राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ ।

यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न कलरहरू प्रयोग गरिएको छ ।

ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । नेपालले यस अद्धि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्राण्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज टुुर्ली एसिया जस्ता थिमबाट आफ्नो देशको ब्राण्डिङ गर्दै आएइका थिए ।

यो पटक नेपालको पर्यटकीय गन्तव्य मध्ये एक लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्व प्रचारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्धत पुग्ने लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले बताउनुभयो ।

बोर्डका अनुसार काठमाडौंको आर्ट एन्ड डिजाइन कम्पनी कर्प्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यसक्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो ।

बोर्डले किर्तीपुर र पोखराको पनि ब्राण्डिङको काम गरिरहको छ । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँ बार्षिक १६ लाखभन्दा बढी स्वदेशी, करिब दुई लाख तेस्रो मुलक र करिब दुई लाख भारतीय ं पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)