९ चैत्र, काठमाडौं । अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले अप्रत्यासित रुपमा अफगानिस्तानको भ्रमण गरेका छन् । रक्षा मन्त्री अस्टिनको अघोषित भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने तयारीको केही हप्ता पहिले अस्टिन अप्रत्याशित रुपमा यात्रामा निस्किनुभएको हो। रक्षा मन्त्री अस्टिनले अफगान राष्ट्रपति अश्रफ घानीसँगको भेटपछि जिम्वेवारीपूर्ण तवरले युद्धको अन्त्य गरिनु पर्ने बताउनुभयो।
तर उहाँले सेना फिर्ता लैजाने समय सीमामा त्यो पूरा हुने नहुने केही खुलाउनुभएन । उच्च तहमा रहेको हिंसा कम गर्नेमा ध्यान केन्द्रित हुनु पर्ने र द्वन्द्व अन्त्यका लागि वार्तालाई बढावा दिनु पर्ने रक्षा मन्त्री अस्टिनले बताउनुभयो।
अमेरिकी सेना फिर्ता लैजाने बारे गएको वर्ष तालिबान र तत्कालीन ट्रम्प प्रशासनबिच सहमति भएको थियो । तर बिद्रोही र अफगान सरकारबिचको वार्ताको वाचा भने अझै पनि प्रश्नको घेरामै छ ।
यसअघि तय भएको मे १ को सीमा निकै कठिन रहेको अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनले बताएका छन् । पूर्व सहमति अनुसार आउँदो १ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने छ ।
आफ्नो चासो सैनिक फिर्ता बोलाउँदा तालिबान बिद्रोहीको गतिविधि थप सक्रिय हुन्छ कि भन्नेमा रहेको बाइडेनले बताउनुभएको छ।
अफगानिस्तान भ्रमण गर्ने बाइडेन मन्त्रीमण्डलका अस्टिन पहिलो सदस्य हुन् । एशियाको छोटो यात्राको अन्त्यमा अस्टिन आइतबार काबुल जानुभएको हो।
पत्रकारसँग कुरा गर्दै रक्षा मन्त्री अस्टिनले अफगानिस्तानमा हिंसात्मक गतिविधि अझै पनि उच्च तहमा रहेको र आफूहरुको चाहना त्यो अन्त्य भएको हेर्नु रहेको बताउनुभयो।
पूर्णरुपमा सहमति नभई विदेशी सैनिक फिर्ता भएमा अफगानिस्तानमा पुनः तालिबान शक्तिमा आउने चिन्ता रहँदै आएको छ ।
अफगानिस्तानमा अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक छन् ।
