बेइजिङ ,१० चैत्र। पश्चिमा मुलुकले चीनमाथि कयौँ प्रतिबन्ध लगाएका छन् । अल्पसंख्यक मुस्लिम उइघुर समुदायमाथि गरेको ‘दमन’का कारण प्रतिबन्ध लगाएको जनाइएको छ ।
बीबीसीका अनुसार चीनका उच्च अधिकारीको भ्रमणमा प्रतिबन्धदेखि सम्पत्ति रोक्कासम्म गरिएको छ । यस्तो प्रतिबन्ध युरोपियन युनियन (इयू), बेलायत, अमेरिका तथा क्यानडाको सहकार्यमा लगाइएको हो । चीनलाई १० लाखभन्दा बढी अल्पसंख्यक उइघुर समुदायमाथि नियन्त्रण राखी यातना दिएको आरोप लाग्दै आएको छ ।
त्यस्तै बलपूर्वक श्रममा लगाएको तथा यौनहिंसा गरेको समेत आरोप लागेको छ । चीनले इयूका अधिकारीलाई पनि प्रतिबन्ध लगाउँदै पश्चिमा मुलुकको कदममाथि प्रतिक्रिया जनाएको छ । इयूको प्रतिबन्धले आफ्नो सार्वभौमिकतामा आँच आउने भन्दै चीनले प्रतिबाद गरेको छ ।
यस्तै उसले आफूमाथि लाग्दै आएको आरोपको खण्डन गरेको छ । उइघुर समुदायको क्याम्पमा आतंकवादसँग लड्न ‘पुनः शिक्षा’ अभियान चलाइएको चीनले जनाएको छ । तर बेलायतका विदेशमन्त्री डोमिनिक राबले क्याम्प आधारभूत मानवअधिकार समेत हनन भएको बताएका छन् । इयूले सन् १९८९ पछि पहिलोपटक मानव अधिकार हनन भएको आरोपमा चीनलाई प्रतिबन्ध लगाएको हो ।
