काठमाडौं , २३ चैत्र
पछिल्लो समय भारत विश्वकै कोरोना हटस्पट बनिरहेको छ । बितेको २४ घन्टामा विश्वमै सबैभन्दा बढी नयाँ संक्रमित भारतमा थपिए । भारतमा एकै दिनमा १ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् ।
भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने संक्रमितको संख्या १ करोड २५ लाख नाघेको छ ।
भारतपछि कोरोना भाइरसको तेस्रो लहरको संक्रमण झेलिरहेका झेलिरहेका युरोपेली देशहरुमा फ्रान्स सबैभन्दा प्रभावित छ । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ६० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणका लागि राष्ट्रिय रुपमा लकडाउन गरिनुका साथै कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ ।
टर्की, पोल्याण्ड र इटलीमा पनि संक्रमण बढ्दो क्रममा छ । कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा भने संक्रमण केही घटेको छ ।
