बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्त र नयाँवर्ष : छन्द कविता


  • मोहन सिटौला अस्टिन्,टेक्सस् , अमेरिका ।
  • बिहिबार, बैशाख ९, २०७८
  • 1.3K
    SHARES

वसन्त र नयाँवर्ष
(१)
झुल्क्यो वसन्त नव दीप वसुन्धराको
भूभाग उत्तर सुमौसमको पियारो !
नेपालमा प्रकट भो नव वर्ष न्यानो
सन्मेल भो नव वसन्त र वर्षको यो !
(२)
डुल्दै छ भृङ्ग धरणी भरि भाव भङ्गी
भुल्दै छ मोहवश यामजमा अनङ्गी
छामेर फूल—ललना कलना प्रियाको
सुरेश्वरै उर भरी भव भृङ्ग बन्दो !
(३)
नेपालका प्रकृति संस्कृतिसाथ खेलुन्
नेपालका मन र वन्य सुहित्तमा हुन् !
त्यो याम, ठाउँ मन मुग्ध र भव्य, दिव्य
बन्ने अलौकिक छटा त्यसमा रहन्छ !
(४)
वाह्यान्तरादि खल राग—विराग फाल्ने
पाल्ने स्वतन्त्र भव भाव उमङ्ग हाल्ने
बाल्ने नभान्य, जल औ धरणी भरीको
फल्ने अमोल सुर पुष्प वसुन्धराको !
(५)
नौरङ्ग, रूप र कला नभको, धराको
शीतोष्ण ताप मधु मध्य उमेश्वरीको
हालेर कान्ति, सुषमा उसमा उषाको
बालेर उत्तम कला छविको छटाको !
(६)
नाटेश्वरी र शिवका मृदु नाँच गान
सङ्गीत उत्सव अहा ! महिमा महान
सङ्गीतको श्रवणको मन मोहिनीको
उत्साहको सुमन मोहन मानवी यो !
(७)
नाट्यादि,गीत र सुमञ्चन दृश्य कस्तो !

यो सृष्टि सौम्य गरिमामय चिन्तनाको !
यो आर्तवप्रिय कला जगदीश्वरीको
सुस्पर्श हुन्छ तनमा, मनमा महीको !
(८)
सम्पूर्णमा अतुल आर्तव राग रानी
ब्रह्माण्ड नाद भरिने सुरगान खानी
आनन्दको सुरव यो ऋतुराज झल्क्यो
गाऊँ म मुग्ध मधु गीत सबै छटाको !
(९)
नेपाल मात्र मधु देश वसुन्धरामा
न्यानो वसन्त—नववर्ष छ मेल नाना
छन् सन्त अन्त नहुने मयको कला यो
संयोग योग छ यहाँ भव दुर्लभैको !
(१०)
आकाश औ अवनिको नव लग्नसाज
जुरेछ भव्यतम सुन्दर काज आज
पाएर प्रेम मधु मानस पार्बतीको
कैलाश भाग्यमय भो सब चेतनाको !
(११)
तानी तरङ्गमय ताल तनाव ताना
हाली सहर्ष हक, हाउ र भाउ नाना
आवेग बेग बलको वहु बिघ्न जस्तो !
कस्तो छ मोहमय सन्त वसन्त यस्तो !
(१२)
वन्यादि, वृक्ष, लतिका र जडीबुटीको
सौगन्ध फूल, फलको रस वीर्य बढ्दो
पाएर सोम, मधु चन्दन पर्बतैको
सौभाग्यको तिलक लाउँ वसन्तको यो !

—मोहन सिटौला
अस्टिन्,टेक्सस् , अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)