१६ बैशाख, बाँके । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो।
५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो ।
यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।
भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
